आँखा दानका बारेमा धेरैलाई भ्रम पनि हुन सक्छ। आँखा दान गर्ने भनेको आँखाको डल्लै दान गर्ने होइन। आँखाको कालो भाग (कर्निया) अर्थात् नानी प्रत्यारोपण गर्ने हो। मृत्यु भएको मानिसको कर्निया निकालेर अर्को मानिसमा प्रत्यारोपण गर्न सकिन्छ।
काठमाडौंसहित विभिन्न सहरका अस्पतालमा कर्निया प्रत्यारोपण हुन्छ। नेपालमा कर्निया दान गर्ने व्यवस्था छ भने तिलगंगा आँखा प्रतिष्ठानमा 'आई बैंक' समेत सञ्चालन भइरहेको छ।
कसैको मृत्यु भए बाहिरका मानिसले छुन नदिने हाम्रो परम्पराले नानी दानमा समस्या परिरहेको छ। तर मानिसहरूमा विस्तारै सचेतना पनि आएको छ। शरीरबाट कर्निया झिकेर दृष्टि गुमाएकाहरूलाई उपचार गर्न सकिन्छ भन्ने सोचको विकास भएको छ।
कर्निया ब्लाइन्डनेस भनेको आँखामा भएको सिसाको पर्दा धमिलो हुनु हो। सिसा नै धमिलो हुन गए आँखाको नानी जान सक्छ। धेरै कारणबाट यस्तो हुन्छ भने कसैको जन्मजात पनि हुन्छ।
कतिपय अवस्थामा गर्भमा रहँदा गलत औषधि प्रयोग भयो भने बच्चालाई नानीको समस्या हुन्छ। कुनै किसिमको रोगले गर्दा र आँखामा चोट लागे घाउ भएर देख्न सक्ने क्षमता गुम्न सक्छ।
आँखा दान सबैले गर्ने हो भने नानी गुमाएकाहरूको उपचार सम्भव हुन्छ। कहिलेकाहीँ नानी ५ वटा हुन्छ तर १० वटा चाहिन्छ। त्यस्तो बेलामा समस्या पर्छ। सबै मानिसले आँखाको नानी दान गर्ने हो भने यो सहज हुन्छ।
आँखाको नानीमा कुनै समस्या आयो भने त्यसको उपचारसमेत गर्न सकिन्छ।
आँखाको दान गर्न तिलगंगा आँखा प्रतिष्ठानको 'आई बैंक' मा आएर गर्न सकिन्छ। अनलाइनबाट पनि दान गर्न सकिन्छ। यसरी दान गर्ने उसले इच्छाएको व्यक्तिले पनि अनुमति दिनुपर्छ। किनकी दान गर्ने व्यक्तिको आफन्तसमेत सहमत भए भने मात्रै कसैको मृत्युपछि नानी झिक्न सकिन्छ। त्यसका लागि हामीले आफन्तको हस्ताक्षर नै राखेका हुन्छौं।
कोरोना भाइरस संक्रमणका समयमा आँखामा समस्या देखिएको छ। यस्तो बेलामा आँखा पाक्ने रोगलाई अझै ख्याल गर्नुपर्छ। आँखामा संक्रमणसँगै अरू समस्या पनि छ कि, त्यसमा समेत ध्यान दिनुपर्छ।