जवान हुने क्रममा सबै जनाको हर्मोन बढेर आउँछ। त्यो बेलामा छालामा हुने तेल बनाउने ग्ल्यान्जहरू ठूलो भएर तेलीय पदार्थ बढ्छ, जसले गर्दा डन्डीफोर हुन्छ। डन्डीफोरलाई जवानहरूले समस्याका रूपमा लिन्छन्। डन्डीफोर कसैलाई धेरै आउँछ भने कसैलाई थोरै आउँछ। यसले दाग,धब्बा र खत बनाउँछ। जसले गर्दा मानिसलाई समस्या हुन्छ। यसैले समयमै चर्म तथा यौन रोग विज्ञसँग परामर्श लिनुपर्छ।
डन्डीफोरले पार्ने समस्या, यसको उपचारलगायत विषयमा केन्द्रीत रहेर चर्म तथा यौन रोग विशेषज्ञ डाक्टर अनुपमा कार्कीसँग भिडिओ कुराकानी गरेका छौं।
यस कुराकानीका मुख्य अंश: -जो मानिसको छाला बढी चिल्लो हुन्छ, त्यस्तो व्यक्तिलाई डन्डीफोर धेरै हुन्छ। परिवारमा कसैको डन्डीफोर आएको थियो भन्ने अरूलाई पनि धेरै आउने हुन सक्छ। धेरै चिल्लो र गुलियो खानेलाई पनि डन्डीफोर हुन्छ।
-डन्डीफोर हुनेले धेरै मुख धुनपर्छ भन्ने होइन। दिनमा दुई पटक मात्रै मुख धुँदा पनि हुन्छ। अनेकथरीका कस्मेटिक सामानको प्रयोगले पनि डन्डीफोर बढाउँछ। चिल्ला खालका क्रिम झनै लगाउनु हुँदैन। मानिसले बढी स्ट्रेस लिँदासमेत डन्डीफोर हुन्छ।
- १० वर्षदेखि १९ वर्षसम्मको उमेरमा डन्डीफोर बढी आउँछ। ३० वर्ष कटेपछि पनि डन्डीफोर देखियो भने यसको कारण खोज्नुपर्छ।
- डन्डीफोर आफैं पनि ठिक हुनसक्छ। १०-१५ वर्षको उमेरमा आएको डन्डीफोर आफैं ठीक हुन्छ। त्यो बेलामा तुरून्तै उपचार गर्नपर्छ भन्ने छैन। तर पाक्न थाल्यो, धेरै ठूलो आउन थाल्यो भने उपचार गर्नुपर्छ।
-यसलाई लापरबाही गरियो भने नराम्रो असर गर्छ। डन्डीफोर बिग्रियो भने मान्छेको अनुहार कुरूप बनाउन सक्छ।
- यसको समयमा उपचार गर्न जरूरी छ। युवा अवस्थामा सबैलाई आउँछ तर धेरैलाई औषधी गर्नुपर्ने गरी आउँदैन। केही हप्तामा आफैं कम भएर जान सक्छ। तर सबै जनालाई यसरी कम हुन्छ भन्ने छैन।
-महिलालाई महिनावारी हुने बेलामा देखिन सक्छ। कडा खालको डन्डीफोर केटाहरूलाई देखिएको छ।
- अनुहार बिग्रिएको बेला मानसिक रोगसमेत देखिन सक्छ। उसको अनुहारको दागको डरले सार्वजनिक कार्यक्रममा समेत जाँदैन। त्यसैले यस्तो बेलामा उसको ख्याल गर्नुपर्छ भने मानसिक रोग विशेषज्ञको समेत परामर्श लिनुपर्छ।
वीर अस्पताल र नेपाल स्किन केयर सेन्टर सिनामंगलमा कार्यरत चर्म तथा यौन रोग विशेषज्ञ डा अनुपमा कार्कीसँग गरिएको भिडिओ कुराकानीको पूरा अंश: