हालै न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित भएको एक अनुसन्धानले पहिलो पटक आमामा भएको गर्भाशय ग्रिवाको (सर्भिकल) क्यान्सर योनी प्रशवको क्रममा छोराको फोक्सोमा सरेको हुनसक्ने देखाएको छ। यस अगाडि आमाबाट बच्चामा क्यान्सर वंशाणुगत तवरले तथा नालमार्फत् आमाको रगतमा घुमिरहेका क्यान्सर कोषिकाहरू बच्चामा प्रवेश गर्दा सर्ने वर्णन गरिएको थियो।
क्यान्सर कस्तो रोग हो ?
क्यान्सर एक प्राणघातक रोग हो। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१८ मा मात्र क्यान्सरले गर्दा संसारभर लगभग एक करोड मानिसको ज्यान गएको थियो।
क्यान्सर शरीरको जुनसुकै अंगमा हुन सक्छ। हाम्रा शरीरका कोषहरू क्यान्सर गराउने तत्व ‘कार्सिनोजेन’हरूसँग प्रतिक्रिया गर्दा द्रूत तथा अनियन्त्रित तवरले विभाजन हुन थाल्छन् र आफ्ना सामान्य सिमाबाहिर गई शरीरको छेउछाउका भागहरूलाई आक्रमण गर्न थाल्छन्।
यी क्यान्सर कोशिकाहरू सुरू भएको अंगमा मात्र सीमित नभई परपर विभिन्न अंगमा रगतलगायत अन्य माध्यमबाट फैलन्छन्। यस्तो फैलने प्रक्रियालाई ‘क्यान्सर मेटास्टेसिस’ भनिन्छ। यस क्रममा शरीरका महत्वपूर्ण अंगहरूले राम्रोसँग काम गर्न नसक्दा बिरामीको मृत्यु हुने गर्छ।
क्यान्सर कसरी सुरू हुन्छ ?
क्यान्सर शरीरका कोषहरूको अनियन्त्रित तवरले वृद्धि हुँदा हुने गर्छ। कोषहरूको विस्तार तथा विभाजनमा विभिन्न प्रोटिनहरूले काम गर्छन्। ती प्रोटिनहरू हाम्रो शरीरमा हुने डिएनए अनुक्रमको आधारमा बन्छन्।
कुनै प्रोटिनले कोष वृद्धिमा सहयोग पुर्याउँछन् त कुनैले अनियन्त्रित तवरले वृद्धि हुनबाट रोक्छन्। भौतिक तथा जैविक कार्सिनोजेनको प्रतिक्रियामा यस्ता प्रोटिन बनाउने जीन परिवर्तन (आनुवंशिक उत्परिवर्तनहरू) हुँदा प्रोटिनको काममा बढवा वा कमी आउन सक्छ।
कोष वृद्धि गर्ने प्रोटिनहरूको प्रकार्य विस्तार हुँदा वा अनियन्त्रित हुन नदिने प्रोटिनको प्रकार्यमा कमी आउँदा वा अवरुद्ध हुँदा अनियन्त्रित तवरले कोषहरूको विस्तार भई क्यान्सर सुरू हुनसक्छ। यस्ता क्यान्सर गराउने आनुवंशिक उत्परिवर्तनहरू उमेरसँगै जम्मा हुँदै जाने हुँदा ज्येष्ठ उमेर समूहमा क्यान्सर लाग्ने सम्भावना धेरै हुन्छ।
वंशाणुगत क्यान्सर
यदि कुनै व्यक्तिलाई क्यान्सर-पैदा गर्ने आनुवंशिक उत्परिवर्तन तिनीहरूका बाबुआमाबाट प्राप्त हुन्छ भने त्यस प्रकारको क्यान्सरलाई वंशानुगत क्यान्सर भनिन्छ।
करिब १० प्रतिशत क्यान्सर वंशानुगत तबरले लाग्छन्। यसको लागि त्यस्ता क्यान्सर-पैदा गर्ने आनुवंशिक उत्परिवर्तन शुक्रकिट वा डिम्बमा भएको हुनुपर्छ।
सन्तानले आफ्नो आमा-बाबुबाट सबै जिनहरूको एक-एक प्रतिलिपि प्राप्त गर्छन्। आनुवंशिक क्यान्सरको मामलामा छोराछोरीले आफ्नो बाबु वा आमामध्ये एक जनाबाट क्यान्सरको जोखिम बढाउने उत्परिवर्तनको भएको जिनको एक प्रतिलिपि र अर्कोबाट उत्परिवर्तन नभएको सामान्य प्रतिलिपि प्राप्त गर्दछन्। उत्परिवर्तन भएको जिनलाई ‘क्यान्सर संवेदनशीलता जीन’ पनि भनिन्छ।
क्यान्सरको संवेदनशीलता जीन बाबुआमाको शुक्रकिट वा डिम्बबाट प्राप्त हुने हुँदा बच्चाको शरीरका प्रत्येक कोषहरूले त्यस्ता जिनहरू फेला पार्छन्। एक प्रातिलिपिले काम नगर्ने प्रोटिन बनाए तापनि अर्को प्रातिलिपिले सामान्य काम गर्ने प्रोटिन बनाउने हुँदा एक समयसम्म कोषहरूले ठिकसँग काम गरिरहेका हुन्छन्।
शरीरका अर्बौं कोषिकामध्ये कुनै एक कोषमा उत्परिवर्तन हुन गई जब ठिक प्रतिलिपिसमेत क्षतिग्रस्त हुन जान्छ, त्यो कोषले आफ्नो वृद्धि नियन्त्रण गुमाउन सक्छ र क्यान्सर हुन सक्छ।
साधारणतया: वंशानुगत तबरले हुने क्यान्सर दुई वा धेरै आफन्तहरूमा समान प्रकारले देखिने गर्छ। वंशानुगत क्यान्सरले परिवारको धेरै पुस्तालाई प्रभावित पारेको देखिन्छ। साथै, यस्तो क्यान्सर कम उमेरमा पनि देखिन सक्छ।
मातृ क्यान्सर
आमाबाट भ्रुणमा क्यान्सरका कोषिकाहरू स्थानान्तरण भई बच्चामा क्यान्सर लाग्न सक्छ। यदि आमामा अन्तिम चरणतिरको क्यान्सर भएको खण्डमा, क्यान्सर कोषिकाहरू ट्युमरबाट वियोजित भई रगतमा बग्न थाल्छन् र त्यस्ता कोषिकाहरू नालको मध्यमबाट आमादेखि भ्रुणमा पुग्न सक्छन्। गर्भमा रहेको बच्चाको विभिन्न अंगमा त्यस्ता कोषिकाहरूले उपनिवेश गरी बढ्न थाल्छन् र नयाँ ट्युमर तयार पार्छन्। आमादेखि भ्रुणमा पुगेको प्रत्यक ट्युमर कोषिकामा नयाँ ट्युमर बनाउने शक्ति हुन्छ र एकैचोटि विभिन्न अंगमा धेरै ट्युमर बन्न सक्छन्। यद्यपि, यस्तो फैलावट विरलै हुने गर्छ।
न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनका अनुसार अहिलेसम्म मातृ भ्रुण फैलावटका अठार घटनाहरू मात्र अहिलेसम्म वर्णन गरिएको छ। यी सबै प्रसारण आमादेखि भ्रुणमा नालको माध्यमबाट भएको विश्वास गरिन्छ। यद्यपि, यस्तो प्रसारण योनी प्रशवको क्रममा हुन सक्ने सम्भावना रहन्छ, जुन कुरा हालै भएको अनुसन्धानले देखाएको छ।
योनी प्रशवको क्रममा हुने क्यान्सर प्रसारण
उक्त अन्वेषणमा अनुसन्धानकर्ताहरूले आमाबाट शिशुको फोक्सोमा क्यान्सर प्रसारण भएका दुई वटा घटना रिपोर्ट गरेका छन्। योनी प्रशवको क्रममा योनीभित्र रहेको तरल पदार्थमा रहेका सर्भिकल क्यान्सरका कोषहरू आमाबाट शिशुको मुख्य वायुमार्ग श्वासनलीबाट फोक्सोसम्म गई त्यहाँ वृद्धि हुँदा क्यान्सर उत्पन्न भएको अनुमान गरिएको छ।
दुबै आमाहरूलाई बच्चा जन्मिएको तीन महिनाभित्र सर्भिकल क्यान्सर भएको पत्ता लागेको थियो। यी दुवै घटनाहरू क्यान्सर देखिएका बच्चाहरू (दुबै पुरुष)को क्यान्सरयुक्त र सामान्य टिस्युहरूबाट प्राप्त जोडी नमूनाहरूको नियमित अनुक्रमणिका गर्ने क्रममा पत्ता लागेका थिए।
कसरी प्रमाणित भयो त आमाबाट शिशुमा सरेको ?
अनुसन्धानकर्ताहरूले विभिन्न तवरले आमादेखि शिशुमा क्यान्सर प्रसारण भएको पुष्टि गरेका छन्।
प्रथम, ती महिलाका छोराहरूको फोक्सोबाट संकलन गरिएका ट्युमर कोषहरूमा दुबै ‘एक्स’ क्रोमोजोम फेला परे, जबकि पुरुषहरूमा एक ‘वाई’ र एक ‘एक्स’ क्रोमोजोम हुन्छन्।
दोस्रो, शिशुहरूको फोक्सोबाट संकलन गरिएको ट्युमर कोषहरूले पनि प्रत्येक आमाको ग्रिवा ट्यूमर कोषहरूसँग मिल्ने आनुवंशिक अनुक्रम र उत्परिवर्तन फेला परे। थप रूपमा केटाहरूको ट्युमर कोषिकामा ग्रिवा ट्यूमर गराउने मानव प्यापिलोमा भाइरसको आनुवंशिक अनुक्रम पत्ता लाग्यो। नालबाट रगतमार्फत् क्यान्सर सर्दा विभिन्न अंगहरूमा फैलने तर यी दुबै घटनामा क्यान्सर फोक्सोको ब्रोनकाइलीमा मात्र देखिएको थियो।
यस खोजीपछि सिफारिसहरू
यो अनुसन्धानले के देखाउँछ भने आमाबाट शिशुमा योनी प्रशवको समयमा सर्भिकल क्यान्सर सर्न सम्भव छ। त्यसकारण, यस लगायत अन्य गर्भाशयका क्यान्सर हुने आमाहरूका लागि सिजेरियन सेक्सन गर्दा बच्चामा क्यान्सर सर्ने सम्भावना टार्न सकिन्छ।
करिब ७०% सर्भिकल क्यान्सर मानव प्यापिलोमा भाइरसको संक्रमणको कारण हुने गर्छ। यो भाइरसको विरूद्ध खोप बनिसकेको हुँदा महिलाहरूमा यो प्रभावकारी ढंगले खोप कार्यक्रम चलाउँदा आमालाई त क्यान्सर रोकिने छ नै, बच्चामा पर्न आउने यस्ता जोखिमको पनि न्यूनीकरण हुनेछ।
(मिश्र म्यासाचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजीमा कार्यरत क्यान्सर वैज्ञानिक हुन्)