रूपन्देहीको तिलोत्तमाका २०९ (परिवर्तित नाम) को कम्मरमा अचानक रातो र हल्का फुस्रो रङको दाग देखियो। यो आठ/नौं महिना पहिलेको घटना हो।
सामान्य दाग होला भनेर उनले त्यति वास्ता गरेका थिएनन्। शुरूमा कम्मरमा देखिएको त्यो दाग शरीरको अन्य भागमा फैलिदै गयो। छालामा सानासाना गिर्खा पनि देखिन थाले।
स्थानीय राजनीतिक कार्यकर्तासमेत रहेका उनी परीक्षणको लागि बुटवलमा गए। बुटवलमा परिक्षण गरेपछि थाहा भयो- सामान्य मानेर वेवास्ता गरेको त्यो रातो फुस्रो दाग कुष्ठरोग रहेछ।
उनकी श्रीमती र छोराको शरीरमा पनि त्यस्तै दाग देखियो। परीक्षण पछि उनीहरुलाई कुष्ठरोग भएको पुष्टि भयो। परिवारका तीनजनालाई कुष्ठरोग भएपछि उनीहरूले तिलोत्तमाकै एउटा स्वास्थ्य चौकीबाट औषधी सेवन शुरू गरे।
श्रीमती र छोरालाई पौसी व्यासिलेरी (कम किटाणु भएको) भएकोले ६ महिनासम्म औषधी सेवन गरेपछि निको भयो तर उनलाई २०९ लाई मल्टिव्यासिलेरी (बढी किटाणु भएको) भएकोले अझै औषधी सेवन गरिरहेका छन्।
तिलोत्तमाकै विनोद शर्मा (परिवर्तित नाम)को हातमा गत वर्ष मंसिरमा दाग देखियो। बुटवलको कुनै कलेजमा अध्यापन गराउँदै आएका उनले नजिकैको मेडिकलमा गई हातको दाग देखाए।
मेडिकल सञ्चालकले सोधपुछ गरेर सामान्य छालाको समस्या भन्दै मल्हम दिएर पठाए।
मेडिकलबाट औषधि लगेर लगाउन शुरू गरेका विनोदलाई दाग निको हुने विश्वास थियो। दुई महिनासम्म औषधि लगाए पनि दाग निको हुनुको सट्टा बढ्दै गयो। दाग फैलिदै जान थालेपछि उनी तिलोत्तमास्थित सेमराबजार स्वास्थ्य चौकीमा परीक्षण गर्न पुगे। स्वास्थ्यचौकीमा परिक्षण पछि पत्ता लाग्यो दुईमहिनादेखिको सामान्य दाग त कुष्ठरोग पो रहेछ।
विनोदले गतवर्ष माघ महिनादेखि नियमित कुष्ठरोगको औषधी सेवन गरिरहेका छन्।
तिलोत्तमाकै सरस्वती सुवेदी (परिवर्तित नाम) को देब्रे खुट्टामा फुस्रो दाग देखियो। सामान्य घाउखटिरा भएर दाग बसेको होला भन्ठानेर सरस्वतीले शुरुमा खासै वास्ता गरिनन्। तर विस्तारै दाग बढ्दै जान थाल्यो, दाग वरिपरीको छाला बाक्लो हुँदै थियो, उनले छालामा छुँदा थाहा पाउन छोडिन्।
सरस्वतीले छालामा रातो तथा हल्का फुस्रो रङको दाग देखिने, नदुख्ने नचिलाउने, अनुहारको छाला बाक्लो हुने, छालामा गिर्खा देखिने, छुँदा थाहा नहुने जस्ता लक्षण देखियो भने त्यो कुष्ठरोग हुनसक्छ भन्ने सुनेकी थिईन्।
भोलिपल्टै उनी स्वास्थ्य चौकी पुगिन्, खुट्टाको दाग देखाईन्, स्वास्थ्यकर्मीलाई लक्षण बताईन् र परीक्षणको लागि छालाको नमूना दिईन्। परीक्षण पछि उनको खुट्टामा देखिएको दाग कुष्ठरोग रहेछ।
कम किटाणु भएको कुष्ठरोग भएकोले उनले ६ महिना औषधी सेवन गरिन्। अहिले उनी कुष्ठरोगमुक्त भएकी छन्।
यी त प्रतिनिधि पात्र मात्र हुन्। नेपाल सरकारले सन् २०१० मै नेपालबाट कुष्ठरोग निवारण भएको घोषणा गरे पनि नेपालमा कुष्ठरोगीको संख्या बढिरहेको छ।
स्वास्थ्य विभागको तथ्यांक अनुसार देशभर आर्थिक वर्ष २०७६/०७७ मा एकहजार आठ सय ५३ जना नयाँ कुष्ठरोगी फेला परेका छन्। गत आर्थिक वर्षसम्मको अन्त्यसम्म उपचारमा रहेका कुष्ठरोगीको संख्या २ हजार ४४ रहेको छ।
देशका सातवटै प्रदेशको तथ्यांकलाई हेर्दा प्रदेश २ र लुम्बिनी प्रदेश कुष्ठरोगीहरुको संख्याको आधारमा अगाडि छन्। एक वर्षको अवधिमा सबैभन्दा बढी प्रदेश नं. २ मा ६ सय जना नयाँ कुष्ठरोगी फेला परेका छन्।
त्यस्तै लुम्बिनी प्रदेशमा ४ सय ७८, प्रदेश नं. १ मा २ सय ८४, बाग्मती प्रदेशमा २ सय ८, सुदूरपश्चिममा १ सय ३७, गण्डकी प्रदेशमा ९१, र कर्णाली प्रदेशमा ५५ जना कुष्ठरोगी पत्ता लागेका छन्।
स्वास्थ्य विभागको तथ्यांक अनुसार देशभर अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा भने ३ हजार २ सय ८२ जना नयाँ कुष्ठरोगी फेला परेका थिए।
गत आर्थिक वर्ष २०७६/७७ मा रुपन्देहीमा मात्र १ सय २१ जना नयाँ विरामी फेला परेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म १ सय २६ जना उपचाररत थिए। रूपन्देहीमा आर्थिक वर्ष २०७५/७६ मा १सय ५२ जना नयाँ कुष्ठरोगी फेला परेका थिए।
जिल्लाका दक्षिणी क्षेत्रका पालिका भन्दा उत्तरी क्षेत्रका पालिकामा कुष्ठरोगीको संख्या धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ। कार्यालयका क्षयकुष्ठ निरीक्षक टिकाराम अधिकारीका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा २१ जना कुष्ठरोगी एक वर्षको अवधिमा फेला परेका छन्।
त्यस्तै तिलोत्तमा नगरपालिकामा २०, सिद्धार्थनगर नगरपालिकामा १३, सैनामैना नगरपालिकामा १०, मायाँदेवी गाउँपालिकामा ९ र देवदहमा ८ जना नयाँ कुष्ठरोगी पत्ता लागेका छन्।
त्यस्तै सुद्धोधनमा ६, ओमसतिया, रोहिणी र गैंडहवामा ५/५ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ४, समरीमाई र कञ्चन गाउँपालिकामा २-२ जना र मर्चवारी र सियारी गाउँपालिकामा १-१ जना कुष्ठरोगी पत्ता लागेका छन्।
सरकारले सन् २०२० को अन्तसम्ममा प्रति दश हजारमा कुष्ठरोगीको संख्या एक जनामा झार्ने रणनीति लिएको थियो। तर, रुपन्देहीमा भने त्यो रणनीति सफल हुन सकेन। रुपन्देहीमा प्रति दश हजार जनसंख्यामा कुष्ठरोगीको संख्या १ दशमलब १९ पुगेको छ। जसले सरकारी लक्ष्य भेट्टाउन नै मुस्किल पर्यो।
नेपालमा २०६६ साल माघ १० गते कुष्ठरोगीको संख्या प्रति दश हजारमा १ जनाभन्दा तल झार्ने गरी निवारणको घोषणा गरिएको थियो। तर त्यो लक्ष्य रुपन्देहीले भने भेट्टाउन सकेको छैन। राष्ट्रिय स्तरमा यो दर शून्य दशमलव ६९ रहेकोले नेपाल कुष्ठरोग निवारण घोषणा गरिसकिएको छ। रूपन्देहीमा भने सरकारी लक्ष्यभन्दा ० दशमलब १९ प्रतिशतले रोगीको संख्या बढी छ।
चालु आर्थिक वर्षमा पनि रूपन्देहीमा ४६ जना कुष्ठरोगी थपिएका छन्। थपिएकामध्ये बुटवल उपमहानगरपालिकाका १०, तिलोत्तमाका ५, देवदहमा ६, रोहिणीमा ५, सिद्धार्थनगरमा ४, कञ्चनमा ३, मायाँदेवी, ओमसतिया, सम्मरीमाई, र लुम्बिनी सांस्कृतिकमा २/२ जना तथा सियारी र कोटहीमाई गाउँपालिकामा १/१ जना कुष्ठरोगी थपिएका छन्।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले सरकारले कुष्ठरोगीको निःशुल्क उपचार गर्दै आए पनि विरामीहरु रोगबारे खुल्न नचाहेका कारण निवारणमा समस्या आएको बताए।
सरकारकाले कुष्ठरोगसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेको भए पनि रोगबारे थाहा पाए पारिवारिक तथा सामाजिक बहिष्करण हुने डरले धेरै विरामी खुल्न चाहँदैनन्।
डा. गिरी कुष्ठरोग कुनै पाप धर्म वा आफ्नो कर्मका कारण लाग्ने नभई यो किटाणुबाट लाग्ने सरुवा रोग हो र यसलाई लुकाएर नभई औषधी सेवन गरी निको पार्न सकिन्छ भन्ने कुरा बुझाउन सक्नु अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको बताउँछन्। उनका अनुसार कुष्ठरोगको एक मात्रा औषधिले पनि ९९ प्रतिशत किटाणु निष्कृय पार्नेगर्छ।
तिलोत्तमास्थित सेमरा स्वास्थ्य चौकीका क्षयकुष्ठ शाखा प्रमुख केशव पराजुली कुष्ठरोगबारे चेतनाका कमिसँगै समाजमा आफू कुष्ठप्रभावित भएको थाहा भए समाजले अपहेलना गर्छ भन्ने हीनताबोध र मनोवैज्ञानिक त्रासका कारण कुष्ठरोग लुकाएर बस्ने गरेको देखिएको बताउँछन्।
चिकित्सकको सल्लाह बमोजिम नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरूपमा निको हुने भएकोले कुष्ठरोगको कुनै लक्षण देखिए समयमै परीक्षण गरी औषधि सेवन गर्न उनी सल्लाह दिन्छन्।
सरकारले नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा निःशुल्क रुपमा औषधि उपलब्ध गराउँदै आएको छ।
अन्य रोगभन्दा कुष्ठरोग सर्ने सम्भावना धेरै न्यून रहने क्षयकुष्ठ निरीक्षक अधिकारीले बताए। सर्ने मध्येका ९५ प्रतिशतमा रोग प्रतिरोधी क्षमताको कारण यो रोग सर्न सक्दैन। रोग लागे पनि कसैले ६ महिना र कसैले १ वर्ष नियमित औषधि सेवन गरे यो रोगको जिवाणुलाई समाप्त पार्न सकिन्छ र यसबाट मुक्ति पाउन सकिन्छ।
माईक्रोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने कुष्ठरोग रोगीको सम्पर्कमा रहने ब्यक्तिलाई स्वासप्रश्वासको माध्यमबाट सर्ने गर्छ। रोग सरेको २ देखि ५ वर्षमा मात्र यसको लक्षण देखिने अधिकारीले जानकारी दिए।
शरीरको कुनै भागमा छुँदा थाहा नहुने, फुस्रो वा हल्का रातो दागहरु देखा पर्नु सुरूको चिन्ह हो। यस्तै अनुहार र कानका लोतीमा गिर्खाहरु देखिनु, छाला चम्किलो र बाक्लो हुनु, तथा आँखीभौं झरेर जानु पनि कुष्ठरोगका लक्षण हुन्।
कुष्ठरोग दोस्रो चरणमा प्रवेश गरे स्नायूमा असर पर्न गई हात खुट्टा लगातार झमझम गर्ने, छुँदा थाहा नहुने र पछि गएर हातखुट्टाका औला कमजोर भई अन्त्यमा अङ्गभङ्ग हुने सम्भावना रहेको हुन्छ। ‘त्यसकारण प्रत्येकले आफ्नो शरीर आफै अवलोकन गर्न हमीले सुझाव दिने गरेका छौ।’ अधिकारीले भने, ‘समयमै यसबारे थाहा पाए अङ्गभङ्ग हुन पाउँदैन।’