तीन पटकसम्म सिजरिङ गरेकी महिलाको चौथो पटक पनि सिजरिङ गरेर बच्चा जन्माएकी छन्। बैतडीकी ३७ वर्षिय कुमारी निरा बोहोराले नर्भिक अस्पतालमा चौथो बच्चा जन्माएकी हुन्।
टेस्टट्यूव वेवी विशेषज्ञ एवम् ल्याप्रस्कोपिक सर्जन डा.नुतन शर्माले शुक्रबार नर्भिक अस्पतालमा शल्यक्रिया गरेकी हुन्।
तेस्रो पटक बच्चा जन्माउँदा पनि डा शर्मालेनै बोहोराको शल्यक्रिया गरेकी थिइन्।
पहिलो र दोस्रो पटक प्रशूति गृहमा सिजरिङबाट जन्मिएका बच्चा खेर गएका थियो। तर चौथो पटक बच्चा जन्मेकोमा आफू निकै खुसी भएको बोहोराले बताइन्।
‘दुई पटकसम्मको खेर गएको थियो। मलाई चौथो पटक पनि सिजरिङबाट बच्चा जन्माउन सकिन्छ भन्ने थाहा थिएन। तर अहिले म साह्रै खुसी छु।’ उनले भनिन्, ‘तेस्रो पटक छोरी भएपछि त मलाई हुँदैन भन्ने लागेको थियो। डा नुतनको मिहिनेतले मैले छोराछोरी पाएँ। मैले यो क्षण कहिल्यै भुल्न सक्दिनँ।’
चौथो पटक सिजरिङ गरेर बच्चा जन्मिनु दुर्लभ घट्ना रहेको डा. नुतन शर्माको भनाइ छ।
'तीन वर्षअघि उहाँ बच्चा जन्माउने योजना लिएर आउनुभएको थियो। उहाँको तेस्रो बच्चा सफलपूर्वक जन्मियो। उहाँलाई चौथो पनि जन्माउने रहर थियो,’ डा. शर्माले भनिन्, ‘सामान्यतया तीन पटकसम्म सिजरिङ हुन्छ। तर कतिपय अवस्थामा यो भन्दा पनि बढि हुनसक्छ भन्ने प्रमाणित भएको छ।’
शल्यक्रिया गर्दा केही जटिल भएको भए पनि अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको उनले बताइन्।