सुदूरपश्चिममा कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियानमा १४ हजार ८५५ जनाले खोप लगाइएका छन्।
माघ १४ गतेबाट ११ दिनसम्म चलेको खोप अभियानमा प्रदेशका नौ वटै जिल्लामा प्राप्त भएको मध्ये ९१ प्रतिशत खोप लगाइएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार दोस्रो चरणमा बाँकी खोप प्रयोग हुनेछ।
उनले पहिलो चरणको खोप लगाउन ३६ हजार डोज प्राप्त भएको र १५ हजार डोज खर्च भएको बताए।
पहिलो चरणमा कैलालीमा ४ हजार १ सय ८४, कञ्चनपुरमा २ हजार ७ सय ९२, डोटीमा १ हजार १ सय ३७, डडेल्धुरामा १ हजार ६२, बैतडीमा १ हजार ३ सय ९७, दार्चुलामा १ हजार ८२, अछाममा १ हजार ४ सय ९५, बझाङमा १ हजार ९१ र बाजुरामा ६ सय १५ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।
उनीहरुलाई दोस्रो चरणको खोप लगाउने विषयमा मिति तोकि नसकेको कार्कीले बताए ।
माघ १४ गते बुधबार बिहान धनगढीमा एक कार्यक्रमबिच मुख्यमन्त्री त्रिलोचन भट्टले खोप सामाग्री सेती प्रादेशीक अस्पतालका स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरेपछि अभियान सुरु भएका थियो ।
अस्पतालका स्वास्थ्यकर्मीबाट पहिलो खोप प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर गुणराज अवस्थीले लगाएका थिए।
मन्त्रालयका प्रवक्ता कार्कीले पहिलो चरणको खोप अभियान अन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप लगाइएको बताए ।
खोप लगाउन कैलालीमा धनगढीस्थित सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा खोप केन्द्र तोकिएको थियो भने अरू आठ जिल्लाका जिल्ला अस्पतालबाट लक्षित वर्गलाई खोप दिइएको थियो।