झापामा क्यान्सर रोगीको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाएको छ। विषादीयुक्त खानेकुरा, असन्तुलित जीवनशैली र बेलैमा उपचारको अभावले क्यान्सर रोग स्वास्थ्य क्षेत्रको ठूलो चुनौती बनेको छ।
प्रदेश नं १ को पूर्वाञ्चल क्यान्सर अस्पतालमा हरेक दिन ६२ जना क्यान्सरका रोगी ओपिडीमा स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन्। एक वर्षअघि विर्तामोडमा स्थापना भएको यो अस्पतालमा सोही अवधिमा १८ हजार ४४५ जनाले क्यान्सरकै उपचार गराएका छन्। जसमध्ये दुई हजार ९४५ जना क्यान्सरका नयाँ बिरामी थिए। अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार एक वर्षको अवधिमा अस्पतालमा ५८० जना क्यान्सरका बिरामीको शल्यक्रिया र ६५४ जनाको रेडियोथेरापी विधिबाट उपचार गरिएको छ।
अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादवले नेपालभरिकै तथ्याङ्कलाई हेर्ने हो भने झापामा सबैभन्दा बढी क्यान्सरका बिरामी रहेको बताए। उनका अनुसार काठमाडौँ, भक्तपुर, चितवन र भारतका विभिन्न शहरमा उपचारमा जाने क्यान्सरका बिरामीहरुमा झापाकै धेरै भएको बताए। उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा देशभरिकै जिल्लाबाट बिरामी आउने गरेको जानकारी दिँदै झापामा बढिरहेको क्यान्सर सङ्क्रमण न्यूनीकरणका लागि व्यापक जनचेतना अभियानको जरुरत रहेको बताए।
गत एक वर्षमा पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारका लागि आएका दुई हजार ९४५ जना नयाँ बिमारीमध्ये आधा झापाकै छन्। अस्पतालकाअनुसार सो अवधिमा एक हजार ४६२ जना क्यान्सरको उपचारका लागि आएका नयाँ बिरामी झापाकै थिए। मोरङबाट ४३१ र सुनसरीबाट २९६ जना नयाँ बिरामीले क्यान्सरको उपचार लिएका छन्। ‘क्यान्सरका जति बिरामीहरु आउनुहुन्छ, तीमध्ये धेरैजसो महिला र त्यसमा पनि स्तन क्यान्सरका बिरामी हुनुहुन्छ’, डा यादवले भने, ‘विषादीयुक्त खानपान, चुरोट–मदिराको सेवन र बेलैमा स्वास्थ्य परीक्षण नगराउने आदतले गर्दा क्यान्सर फैलिरहेको छ।’
उनी कार्यरत अस्पतालले एक वर्षमा १४९ को स्तन क्यान्सर, १०७ फोक्सो क्यान्सर र ८४ पाठेघरको मुखको क्यान्सरको उपचार गरेको छ। पाठेघरको मुख, डिम्बाशय र स्तन क्यान्सर महिलालाई लाग्ने रोग हो। नेपालमा हरेक वर्ष ३५ हजार क्यान्सरका नयाँ रोगी थपिने गरेका छन्। सरकारले विपन्न बिमारीका लागि उपचारमा सहायता पुर्याउन कोष खडा गरी एकपटकका लागि स्थानीय तहको सिफारिसमा एक लाखको उपचार सहयोग गर्दै आएको छ।
झापाको विर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालसहित नेपालमा क्यान्सर अस्पतालको सङ्ख्या पाँच मात्र छ। क्यान्सरको उपचार प्रदान गर्ने स्वास्थ्य संस्थाको सङ्ख्या १२ छ भने मुलुकभरिमा क्यान्सर रोग विशेषज्ञको सङ्ख्या ६० मात्र छ। आर्थिक वर्ष २०७६/७७ मा झापामा एक हजार ३२१ जना क्यान्सरका बिरामीले जनही एक लाखको विपन्न कोषबाट उपचार सहायता लिएका छन्।
बिरामीले एकपटक मात्र यस्तो सहायता पाउँछन्। उक्त अवधिमा झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा विपन्न उपचार कोष लागू भएको थियो। सो अस्पतालमा उपचार गराएका एक हजार ४६२ र अन्य अस्पतालमा उपचार गराउँदा सहयोग पाएकाहरुको सङ्ख्या जोड्दा झापामा गत वर्ष दुई हजार ७८३ जना क्यान्सरका नयाँ बिरामीको पहिचान भएको देखिन्छ। मुलुकबाहिर गएर उपचार गराउनेको सङ्ख्या यहाँ सामेल छैन।
जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईं झापामा क्यान्सर रोगको सङ्क्रमण भयावहरुपमा फैलिरहेको बताए। रोग लागेर उपचार गर्न धेरै धनराशि खर्च गर्नुभन्दा रोग लाग्नै नदिने रोकथामको उपायमा लाग्नु राम्रो हुने उनको धारणा छ।
चुरोट र मदिराको अत्यधिक सेवनले फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुने र खैनी र गुट्खा खाँदा मुखको क्यान्सरको जोखिम हुने क्यान्सर रोग विशेषज्ञ डा वीरेन्द्र यादवले बताए। खानपान र व्यायाममा ध्यान दिने हो र तनावबाट मुक्त रहने हो भने क्यान्सरको मात्र होइन, धेरै प्रकारका रोग लाग्नबाट जोगिन सकिने उनको सुझाव छ। रासस