नेपालमा हाल कोराना भाइरसविरुद्ध लगाइरहेको कोभिसिल्ड खोप तेस्रो ट्रायलका लागि प्रयोगमा ल्याइएकाे भन्ने हल्ला चलेको छ।
तर स्वास्थ्य क्षेत्रका विज्ञहरुले भने भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको उक्त खोप ढुक्क भएर लगाउन सुझाएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरलले कोभिसिल्ड खोप तेस्रो चरणको परीक्षण सकेर आएपछि मात्र नेपालमा अनुमति दिइएको बताए।
उनले भने,‘नेपालमा कोभिसिल्ड खोप प्रयोग तेस्रो ट्रायल होइन। याे खोप १२ हजार बढी जनसंख्यामा परीक्षण गरी सुरक्षित र प्रभावकारी देखिएपछि मात्रै आएको हो। यसकारण यस्तो भ्रममा नपरी खोप लगाउनुहोला।’
त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बस्तोलाले कोभिसिल्ड खोपमा कुनै शंका नगर्न आग्रह गरेका छन्। उनले यो खोप ९० प्रतिशत प्रभावकारी देखिएको बताए।
‘खोप लगाएर कोरोना संक्रमण भएपनि मानिस सिकिस्त हुँदैन’, डा बास्तोलाले भने, ‘समुदायमा खोप अभियानमा जानुअघि खोपप्रति भएको भ्रमहरु चिर्न आवश्यक छ। तर, कोरोनाविरुद्धको खोप लगाएपनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ।’
कोभिसिल्ड नेपाल सहित अन्य १६ वटा मुलुकहरूमा पनि प्रयोग भइरहेको भन्दै उनले सुरक्षित र प्रभावकारिताबारे भ्रममा नर्पन सुझाए।
स्वास्थ्य राज्यमन्त्री नवराज रावतले कोभिसिल्ड खोपको गुण्स्तरीयता, भण्डारण गर्दा अपनाइएको मापदण्ड, उत्पादन क्षमता र न्यून आय भएकाले खरिद गर्न सक्ने मूल्यकाे आधारमा नेपालमा मान्यता दिइएको बताए।
उनले उक्त खोपले सबै मापदण्डको आधारमा सबैभन्दा प्रभावकारी खोप मध्येको एक रहेको प्रमाणिकता प्राप्त गरेपछि नेपालमा प्रयोगका लागि स्वीकृत गरिएको प्रष्ट पारे।
उनकाअनुसार नेपालमा २ करोड १६ लाख जनसंख्यालाई खोप लगाउने सरकारकाे उद्देश्य छ।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई डब्लुएचओको मापदण्डअनुसार खोप सुरक्षित भएको एकिन गर्न आवश्यक सबै प्रक्रिया पुरा गरेपछि कोभिसिल्डलाई अनुमति दिइएको बताउँछन्।
बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले कोभिसिल्डले कतिपय अवस्थामा नयाँ प्रजातिको कोरोना भाइरसलाई पनि जित्न सफल भएको बताए।
उनले भने,‘सबै किसिमका सुरक्षा र प्रभावकारिता सम्बन्धी परीक्षणमा यो खोप सफल रहेको छ र गुणस्तरको आधारमा कोभिसिल्डलाई नेपाल सरकारले छनौट गरेको हो।’
खोप विज्ञ डा. श्यामराज उप्रेतीले बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा यसको तेस्रो चरणको परीक्षण गरेको बताउँदै त्यसमा सुरक्षित र प्रभावकारी पाइएको बताए ।
उनले सरकारलाई पहिलो र दोस्रो चरणको खोप लगाउने अन्तर ८ देखि १२ हप्ताको राख्न सुझाव दिएको बताए।
‘पहिलो खोप लगाएको अन्तर जति बढी भयो उति खोप प्रभावकारी हुने अनुसन्धानले देखायो। त्यसैकारण हामीले पनि त्यहीँ निर्णय गर्दैछौँ’, उनले भने।
सरकारले यसअघि ४ हप्तापछि दोस्रो डोज खोप लगाउने निर्णय गरेको थियो।
सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले काठमाडौंमा आयोजना गरेको ‘कोभिड–१९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता विषयक अन्तरक्रिया’ कार्यक्रम गरेकाे थियाे।