नोबेल शिक्षण अस्पतालले दुरबिन र नेभिगेशन प्रयोग गरेर मस्तिष्कको शल्यक्रिया गर्न थालेको छ।
यसलाई उसले अत्याधुनिक उपकरणको प्रयोगबाट भइरहेको शल्यक्रिया भनेको छ।
दुरबिन र नेभिगेशनको माध्यमबाट ब्रेन ट्युमर, ब्रेन ह्यामरेज, हाइड्रोसिफालस लगायतको अप्रेसन गर्ने गरिएको नोबेलका वरिष्ठ न्युरो सर्जन डा.प्रकाश काफ्लेले जानकारी दिए।
‘नेभिगेशनको माध्यमबाट समस्या रहेको स्थान सजिलै पत्ता लगाउन सकिन्छ, अनि थोरै प्वाल पारेर दुरबिनको माध्यमबाट भित्र पसी अप्रेशन गर्न सहज हुन्छ,’ डा.काफ्ले भन्छन्, ‘यसरी अप्रेशन गर्दा टाउकोको धेरै भाग खोल्नु पर्दैन, सानो भाग खोलेर सजिलै अप्रेसन गर्न सकिन्छ।’
डा.काफ्लेका अनुसार दुरबिन र नेभिगेशन नहुँदा अप्रेसन गर्न टाउकोको धेरै भाग खोल्नुपर्ने हुन्छ।
तर, दुरबिनको माध्यमबाट अप्रेसन गर्दा सानो भागबाट पनि ठूलो-ठूलो अप्रेसन गर्न सकिने हुनाले विरामीलाई सहज हुने काफ्ले बताउँछन्। कतिपय अप्रेसन नाकको प्वालबाट दुरबिन छिराएर पनि गर्ने गरिएको छ।
नाकबाट दुरबिन छिराएर अप्रेशन गर्दा विरामीमा चोटपटक हुँदैन र विरामी चाँडै निको हुने चिकित्सक बताउँछन्।
नोबेलले २०७३ सालबाट न्युरो सर्जरी सेवा सञ्चालन गरेको हो। नोबेलमा ओ-आर्म, आई सेभेन नेभिगेशन सिस्टम, पेन्टेरो ९०० थ्रिडी एचडी माइक्रोस्कोप, थ्री तेस्ला इन्ट्राअपरेटिभ फङ्सनल एमआरआई, रोवोटिक आर्मसहितको न्यूरो इण्डोस्कोप लगायत उपकरण रहेको काफ्लेले बताए।
यसैबीच, नोबेल शिक्षण अस्पतालले सुनसरीको बराहक्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
लायन्स र लियो क्लब इटहरी स्मार्ट सिटीसँगको सहयर्कामा बराहक्षेत्र नगरपालिका-६ मा शुक्रबार स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
स्थानीय महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा भएको शिविरमा ९ सय ६७ जनाको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए।
उनका अनुसार शिविरमा २३० जनाको ल्याब टेष्ट, १७५ जनाको भिडियो एक्सरे र ८७ जनाको इसीजी गरिएको छ।
शिविरमा विशेषज्ञ डाक्टरसहितको टोलीले मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गरेको थियो।
शिविरमा हाडजोर्नी, दम, रुघाखोकी र आँखामा समस्या भएका विरामी बढी आएका थिए ।
यसअघि गत बुधबार नोबेलले झापाको बुद्धशान्ति गाउँपालिकाको बर्नेमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।