कोरोना भाइरस संक्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु भएको छ। यो साता कतारमा तीन जना र रुसमा एक जना गरी चारको मृत्यु भएको गैरआवासीय स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटाले जानकारी दिए।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोरोनाका कारण सनिबार साँझसम्म २३ देशमा रहेका ३ सय ४९ जना नेपालीको मृत्यु भएको छ।
डा. सापकोटाका अनुसार यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ। हालसम्म ५४ देशमा ६५ हजार २ सय ८७ जना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ। तीमध्ये ६२ हजार ६ सय ६३ जना कोरोना संक्रमणमुक्त छन्। विदेशमा संक्रमणमुक्त हुने दर ९६ प्रतिशत छ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले पछिल्लो समय नेपाल सहित विश्वका विभिन्न मुलुकमा पनि कोरोनाको जोखिम थप बढ्दै गएकोले स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ। जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न समितिका संयोजक डा. सापकोटाले आग्रह गरे।
संक्रमणको नयाँ स्वरुप बढ्दै गएकाले पनि थप सचेत हुनुपर्नेमा उनले जोड दिए।