नर्भिक इन्टरनेसनल हस्पिटलमा ‘ट्यूमर बोर्ड’ गठन भएको छ।
क्यान्सरबाट प्रभावित बिरामीहरूको उपचारमा सम्भावित सबै विकल्प खोज्ने र स्तरीय उपचार सेवा दिने उद्देश्यले विशेषज्ञ चिकित्सकहरूको सहभागितामा ट्यूमर बोर्ड गठन भएको हो।
गठित ट्यूमर बोर्डमा हाल २३ जना विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको अस्पतालले जनाएको छ।
बोर्डको आकार बढाउँदै लगिने अस्पतालले जनाएको छ। यस्तो अभ्यास युरोप-अमेरिकाका स्तरीय अस्पतालहरूमा समेत हुने गरेको उसको दाबी छ।।
बोर्डमा नर्भिकका अन्कोलोजिस्ट, प्याथोलोजिस्ट, ग्यास्ट्रोलोजिस्ट, गाइनेकोलोजिस्ट, जनरल तथा जिआई सर्जन, पेड्राटिसियन, न्यूरोलोजिस्ट लगायतका विशेषज्ञ चिकिसत्क छन्।
कुनै फरक खालको क्यान्सरको बिरामीको समस्या तथा त्यसको सही उपचार विधिको पहिचानका लागि समेत यस्ता खाले बोर्डमा छलफल हुने अस्पतालले जनाएको छ। बोर्डमा सहभागी विभिन्न विशेषज्ञ डाक्टरहरूको राय भिन्न-भिन्न आउने भएकोले यस्तो समस्याको उपचारमा सबैभन्दा उत्तम विधिमा जान सकिने चिकित्सकहरू बताउँछन्।
नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाका अनुसार बोर्डमा सहभागी विशेषज्ञहरूले कुनै बिरामीको सही उपचार योजनाको विषयमा साप्ताहिक रुपमा छलफल गर्ने गर्दछन्। कुनै एक विशेषज्ञले हेरिरहेको केसलाई सामूहिक रुपमा हेर्ने गरिन्छ र उपचार विधिलाई अझ गुणस्तरीय बनाउने कोसिस गरिन्छ। बोर्डमा कुनै बिरामी, उसको समस्या, भइरहेको उपचार विधि, उसका विभिन्न मेडिकल रिपोर्टहरूको विषयमा समेत छलफल हुने डा. झा बताउँछन्।
सो क्रममा कुनै पनि क्यान्सरका बिरामीमा पहिचान भएको ट्यूमरको ग्रेडिङको विषयमा छलफल गरिन्छ। सो सँगै उपयुक्त उपचार विधिको विषयमा समेत बोर्डले निर्णय लिने गर्छ।
‘विश्वमा हरेक दिन ट्यूमर तथा क्यान्सरको उपचारको विषयमा रिसर्चहरू भइरहेका हुन्छन्। विभिन्न इन्भेष्टिगेसनबाट फरक-फरक रिजल्टहरू पनि आइरहेका हुन्छन्,’ डा. झाले भने, ‘उपचारका विधिहरू पनि नयाँ-नयाँ आइरहेका हुन्छन्। अन्य देशमा अभ्यासमा ल्याइने आधुनिक विधिहरुलाई कसरी भित्र्याउने, वा त्यस्तै ढंगले कसरी यहाँ उपचार गर्न सकिन्छ भन्नेजस्ता विषय पनि बोर्डमा छलफल हुन्छ।’
क्यान्सरको उपचारमा विशेष गरी मेडिकल अन्कोलोजिष्ट (औषधिको मद्धतबाट क्यान्सरका बिरामीको उपचार गर्ने व्यक्ति), सर्जिकल अन्कोलोजिष्ट(सर्जरीबाट क्यान्सरको उपचार गर्ने चिकित्सक) र रेडिएसन अन्कोलोजिस्ट (रेडिएसनको मद्धतले क्यान्सरको उपचार गर्ने चिकित्सक)को मुख्य भूमिका हुन्छ।