सीनामंगलस्थित काठमाडौं मेडिकल कलेजले खोटाङको केपिलासगढी र काभ्रेको धुलिखेलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
केपिलासगढीमा दुई र काभ्रेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। केपिलासगढीमा १ हजार १ सय ६४ र धुलिखेलमा १ हजार १ सय ४५ विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जनरल म्यानेजर नारायण दाहालले जानकारी दिए।
केपिलासगढी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी वाक्सिलासँग सहकार्य गरी केपिलासगढी गाउँपालिका-४ स्थित पृथ्वी माध्यमिक विद्यालयमा शिविर गरिएको हो।
शिविरमा २१३ जनाको भिडियो एक्सरे, २०१ जनाको ल्याब टेष्ट र १२५ जनाको इसिजी गरिएको छ। दाँतमा समस्या भएका २१ जनाको दाँत निकालिएको छ।
यता, धुलिखेलमा भएको शिविरमा २१६ जनाको भिडियो एक्सरे, १९७ जनाको ल्याबटेष्ट र १९५ जनाको इसिजी गरिएको केएमसीले जनाएको छ।
यसअघि शनिबार कलेजले खोटाङको ऐंसेलुखर्क गाउँपालिका वडा नं. ३ मा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
ऐंसेलुखर्क गाउँपालिकासँग सहकार्य गरेर एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो।
शिविरमा १ हजार ३ सय ६५ जना विरामीको निःशुल्क उपचार गरिएको केएमसीले जनाएको छ।