विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बाँझोपनको उपचार र कृत्रिम गर्भाधान सेवा सुरू गरेको छ।
निःसन्तान दम्पतीलाई उपचार गरी सन्तान हुँने बनाउन र कृत्रिम गर्भाधान गरी बच्चा जन्माउन आइभिएफ सेन्टर सञ्चालन गरिएको हो।
तालिम केन्द्रसहितको आइभिएफ सेन्टरको बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।
कार्यक्रममा नोबेल अस्पतालकी प्रबन्ध निर्देशक इन्दिरा शर्माले सन्तान नजन्मिएर समस्या व्यहोरिरहेका दम्पतीरूलाई लक्षित गरेर आइभिएफ सेन्टर सञ्चालन गरिएको भन्दै सन्तान नहुँदा निराश भइरहेकामा अब सन्तानको खुसी ल्याउने बताइन्।
नोबेल मेडिकल कलेजका प्रिन्सिपल डा.रामहरि घिमिरेले नोबेलमा सञ्चालित यो सेवाबाट निःसन्तान दम्पतीहरू धेरै लाभान्वित हुने दाबी गरे। नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले निःसन्तान दम्पतीका लागि आइभिएफ सेन्टरले ठूलो खुसी ल्याउने बताए।
सो अवसरमा आइभिएफ सेन्टरका प्रमुख एवम् वरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा.शान्ति सुवेदीले अब निःसन्तान दम्पतीले उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य भएको भन्दै नोबेलले निःसन्तान सम्बन्धी सबै किसिमको उपचार गर्ने बताइन्।
नोबेलले ३ करोड ९५ लाखको लागतमा आइभिएफ सेन्टर सञ्चालन गरेको हो। निःसन्तान दम्पतीका लागि जुनसुकै मुलुकमा हुने जस्तोसुकै उपचार पनि अब नोबेलमा हुने उनले दाबी गरिन्।