मिदासले ‘मेरो डाक्टर’ एप मार्फत अनलाइन भिडियो परामर्श बिहीबारदेखि सुरु गरेको छ ।
बिरामीहरूको चिकित्सक वा अस्पतालसँगको सम्पर्क स्थापित गर्न यो अनलाइन भिडियो परामर्श सेवा प्रभावकारी हुने कम्पनीको विश्वास छ।
नेपालका सयौँ कन्सल्टेन्ट डाक्टर र अस्पताल यस एपमा उपलब्ध हुन्छन्। जुनसुकै रोगका बिरामीहरूले जुनसुकै स्थानबाट अनलाइन भिडियो परामर्श पाउन सक्ने गरी व्यवस्था मिलाइएको मिदास टेक्नोलोजिका प्रबन्ध निर्देशक छत्रहरी कार्कीले बताए।
कोरोना महामारीबाहेक सामान्य समयमा समेत विशेषज्ञ चिकित्सकहरुले यस एपमार्फत् स्वास्थ्य सेवा परामर्श दिन सकिने गरी व्यवस्था मिलाइएको छ।
यसबाट स्वयम् विरामीहरुको समय र पैसा दुवैको बचत भइ अस्पतालहरुमा हुने अनावश्यक भीड कम गर्न मुख्य सहयोगी हुने विश्वास कम्पनीले लिएको छ।
कोरोनासँग सम्बन्धित सम्पूर्ण स्वास्थ्य परामर्श यस अनलाइन भिडियो परामर्शमा निशूल्क हुनेगरी व्यवस्था मिलाइएको छ।
सेवा कसरी लिने?
विरामीहरुले मोबाइल अथवा ल्याप–टप मार्फत् आफुले अनलाइन भिडियो परामर्श लिन चाहेको डाक्टरको समय कुनै पनि समय र स्थानबाट लिन सक्नेछन्।
यदि एन्ड्रोइड फोन प्रयोगकर्ता भएमा गुगल प्ले स्टोरबाट ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सकिन्छ। आइओएस फोन प्रयोगकर्ता भएमा एप्पल स्टोरमा गएर ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सक्नेछन्।
ल्याप–टप वा डेस्क–टपबाट यो सेवा लिन चाहेमा मेरोडक्टर डट कम टाइप गरेर यो सेवा लिन सकिनेछ।
कुनै पनि ग्याजेट तथा इन्टरनेट सुविधा उपलब्ध नभएमा आफुलाई पायक पर्ने नजिकैको फार्मेसी, क्लिनिक तथा स्वास्थ्य चौकीमा पुगेर यो सेवा लिन सकिनेछ।
मिदासले दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा सहयोगी भूमिका खेल्दै आएको बताएको छ।