काठमाडौं मेडिकल कलेज (केएमसी)ले दसौं हजार यौनकर्मी, एचआइभी पीडित तथा अनाथ बालबालिकाको निःशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा गरेको छ।
केएमसीले माइती नेपालको सिफारिसमा आउने यौनकर्मी, एचआइभी पीडित तथा अनाथ बालबालिकाहरूलाई निःशुल्क उपचार गर्ने घोषणा गरेको हो।
घरेलु महिला हिंसा, यौन हिंसा, मानव बेचविखन, बाल श्रम तथा महिला हक अधिकारका विषयमा लामो समयदेखि काम गर्दै आइरहेको माइती नेपाल र केएमसीबीच बिहीबार निःशुल्क उपचार सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।
‘केएमसीले अब माइती नेपालको सिफारिसमा दशौं हजार यौनकर्मी, हज्जारौं एचआइभी पिडित तथा सयौं अनाथहरूको निःशुल्क उपचार गर्नेछ,’ केएमसीका कार्यकारी अध्यक्ष डा, सुनिल शर्माले भने, ‘यो सेवा माइती नेपालमा आjद्ध भएका सबै समुदायका लागि उपलब्ध हुनेछ।’
सम्झौता अनुसार काठमाडौं मेडिकल कलेजले वार्षिक ५० लाख बराबरको निःशुल्क स्वास्थ्योपचार सेवा दिनेछ।
केएमसीले औषधीबाहेक अस्पतालबाट प्राप्त हुने जुनसुकै प्रकारका स्वास्थ्य सेवाहरु निःशुल्क प्रदान गर्ने शर्माले बताए।
सम्झौता पत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष शर्मा, सञ्चालक विजयकुमार पाण्डे तथा माइती नेपालका तर्फबाट अध्यक्ष अनुराधा कोइराला र कार्यकारी निर्देशक विश्वराम खड्काले हस्ताक्षर गरेका छन्।
सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले महिला हिंसा, यौन हिंसा, मानव बेचविखन कार्यमा राष्ट्रको लागि योगदान पुर्याउँदै आएको माइती नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।
उनले यो सम्झौताले यौनकर्मी महिलाको स्वास्थ्य सुरक्षा, एचआइभी पीडीत र अनाथ बालबालिकाको उपचारमा टेवा पुग्ने विश्वास लिएको बताए।
माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले समाजमा विभिन्न कारणले हिंसाको शिकार भएका महिला तथा बालबालिकाहरूको उपचार तथा पुर्नस्थापनामा काठमाडौं मेडिकल कलेजले देखाएको तत्परता अनुकरणीय भएको बताइन्।
राज्यले समेत उपेक्षा गरेको क्षेत्रमा निजी क्षेत्रबाट देखाएको सहकार्यले माइती नेपालको अभियानमा सहयोग पुग्ने तथा हजारौं यौनकर्मी, एचआइभी पिडित तथा अनाथ बालबालिकाको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास कोइरालाको छ।