लुतो एउटा चिलाउने रोग हो। यो एक जनाबाट अर्को व्यक्तिमा सजिलै सर्छ। जो मान्छे नुहाउँदैन, समूहमा गुम्सिएर बस्छ, सरसफाइमा ध्यान दिँदैन उसलाई लुतो हुन्छ।
जब शरीर तातिन थाल्छ र आरामको अवस्थामा हुन्छ, त्यस्तो बेलामा शरीर चिलाउन थाल्छ। लुतो हुनेलाई रातको समयमा धेरै चिलाउँछ।
लुतो निको पार्न धेरै किसिमका औषधी पाइन्छन्। छाला रोग विशेषज्ञको सल्लाहमा यसको उपचार गर्नुपर्छ। लुतो भएका व्यक्तिले प्रयोग गरेका कपडा धुनुपर्छ। घरका अन्य सदस्यले समेत सरसफाइमा ध्यान दिनुपर्छ।
लुतो आउँदा औंलाको कापमा, तल्लो पेटमा, नाइटोको वरिपरि,तिघ्रामा धेरै चिलाउँछ। पानीका फोकाजस्ता साना दाना आउँछन्।
यसलाई लापरबाही गरे धेरै चिलाएर पाक्छ। त्यस्तो अवस्थामा उपचारमा समेत कठिन हुन्छ। लुतो सबै उमेर समूहकालाई हुने गर्छ। बाहिर धुँवाधुलोमा हिँड्नेलाई धेरै हुन्छ।
लुतोका बिरामी धेरै छन्। काठमाडौंमा पानीको कमी भएको र स्वास्थ्यको चेतना नभएकाले यहाँ अझै धेरै छन्। किनकी काठमाडौंको वातावरण पनि त्यस्तै छ। लुतो लागेको व्यक्तिको सम्पर्कमा पुगेपछि सरसफाइमा ध्यान दिनेलाई समेत लुतो हुन्छ। यसको उपचार विधि भने सजिलो हुन्छ। एक पटक लगाउँदैमा लुतो ठिक भएर जान्छ।
लुतोबारे हामीले ओम अस्पतालमा कार्यरत वरिष्ठ चर्म तथा यौन रोग विशेषज्ञ डाक्टर रिता श्रेष्ठसँग भिडिओ कुराकानी गरेका छौं।