विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरू गरिने भएको छ। प्रदेश नं. १ मै पहिलोपटक नोबेलले मिर्गौला प्रत्यारोपण सेवा थाल्न लागिएको अस्पतालको दाबी छ।
स्वास्थ्य सेवा विभागको मानव अङ्ग प्रत्यारोपण समन्वय समितिले नोबेललाई मिर्गौला प्रत्यारोपणका लागि अनुमति दिइसकेको अस्पतालले जनाएको छ।
मिर्गौला प्रत्यारोपण सम्बन्धी सेवाका लागि नोबेलले अनुमति माग गर्दै २०७६ भदौ महिनामा दरखास्त दिएको थियो।
सो विषयमा जाँचबुझपछि साउन १ गतेको निर्णय बमोजिम मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि नोबेललाई अनुमति प्रदान गरेपछि अङ्ग प्रत्यारोपणको तयारी थालिएको सो अस्पतालले जनाएको छ।
मिर्गौला प्रत्यारोपणका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको नोबेल अस्पतालका मिर्गौला रोग विशेषज्ञ तथा मिर्गौला प्रत्यारोपण फिजिसियन डा. शैलेन्द्र श्रेष्ठले बताए। ‘मेनपावर, एन्फा स्ट्रक्चर लगायतको व्यवस्थापन भइसकेको छ। अङ्ग प्रत्यारोपण समन्वय समितिले पनि अनुमति दिइसकेकाले अब थप केही उपकरणहरूको व्यवस्थापनपछि सेवा सुरू हुन्छ,’ डा.श्रेष्ठले भने।
मिर्गौला प्रत्यारोपणका लागि डा. श्रेष्ठसँगै, युरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा. रामसागर शाह लगायतको जनशक्ति नोबेलले तयार पारेको छ।
मिर्गौला प्रत्यारोपण गर्न अप्रेसन कक्ष र बिरामी राख्ने बेडको व्यवस्थापन पनि मिलाइसकिएको छ। अब, आवश्यक उपकरणहरू जर्मन र अमेरिकाबाट ल्याएर साउन अन्तिम साताबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्माले बताए।
मिर्गौला प्रत्यारोपण अहिले काठमाडौंमा मात्र उपलब्ध छ। नोबेलले मिर्गौला प्रत्यारोपण सेवा थालेपछि पूर्वी नेपालसहित अन्य क्षेत्रका बिरामीलाई पनि धेरै सहज हुने नोबेलको भनाइ छ।