एसोसिएशन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (एआईएन)ले स्वास्थ्य पत्रकारहरुको साझा संस्था स्वास्थ्य पत्रकार मञ्च नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।
कोभिडविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्य पत्रकारहरुको सुरक्षाका लागि भन्दै एआईएनले साढे ३ लाख रुपैयाँ बढीको कोभिड किट सहयोग गरेको हो।
शुक्रबार काठमाडाैमा आयोजित कार्यक्रममा एआईएनका अध्यक्ष डाक्टर सुशील कोइरालाले स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेलाई सामग्री हस्तान्तरण गरे।
सो अवसरमा बोल्दै एआईएनका अध्यक्ष कोइरालाले कोभिड महामारी सुरु भएयता अग्रपंक्तिमा खटिएका स्वास्थ्य पत्रकारहरुको सुरक्षाका लागि एआईएनमा आवद्ध विभिन्न संस्थाले कोभिड किटको रुपमा स्वास्थ्य सामग्री उपलव्ध गराएको बताए।
स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले कोभिड महामारीका बेला संक्रमणको जोखिम नभनी दिनरात फिल्डमा खटिने स्वास्थ्य पत्रकारको स्वास्थ्यको चिन्ता लिँदै स्वास्थ्य सामग्री सहयोग गरेकोमा एआईएनलाई धन्यवाद दिए।
एआईएनले उपलव्ध गराएको कोभिड किटमा सर्जिकल तथा एन ९५ मास्क, डिजिटल थर्मोमिटर, अक्सिमिटर, ह्याण्ड स्यानिटाइजर, फेसशिल्ड, सावुन लगायत अत्यावश्यक सामग्री रहेको छ।
एआईएनलाई उक्त सामग्री फेयर मेड, आइपास, आड्रा, वाटर एड, दामिएन फाउण्डेशन, एफएचआई ३६० ईपिक प्रोजेक्ट गरी ६ वटा संस्थाले उपलब्ध गराएको हो।