'मिल्क बैंक' भनेको अन्य बैंक जस्तै हो। आमाको दूधलाई एक ठाउँमा स्टोर गर्ने र पछि चाहिने बेलामा निकाल्न सकिने भएकाले यसलाई 'मिल्क बैंक' भनिएको हो।
आमाको दूधलाई सुरक्षित राख्ने र चाहिएको बेलामा बच्चाहरूलाई दिने गरी स्थापना गरिएको बैंक नै मिल्क बैंक हो।
बच्चालाई आमाको दूधको आवश्यकता हुन्छ। तर कतिपय आमाले दूध खुवाउन सक्दैनन्।
आमा बिरामी भएको, दूध नआएको अथवा बच्चा एनआइसियु (नवजात सघन उपचार केन्द्र)मा भएको बेलामा बच्चालाई आमाको दूध चाहिन्छ।
त्यस्तो बेलामा बट्टाको दूध प्रयोग गरिन्छ जुन महंगो हुन्छ भने बच्चाको लागि कम स्वस्थकर हुन्छ।
त्यसैले मिल्क बैंकको स्थापना जरूरी देखिएको हो।
प्रसूति गृह भनेको बच्चामैत्री अस्पताल हो। यसले कुनै पनि प्रकारको कृत्रिम स्तनपान र बट्टाका दूधहरूलाई निरुत्साहित गर्छ। तर विभिन्न कारणले आमाले दूध खुवाउन नसकेमा बच्चालाई आहार त दिनुपर्छ।त्यसकै लागि मिल्क बैंकको स्थापना गर्न जरूरी छ।
हामीले ठाउँ छनौट गरिसकेका छौं। त्यस्तै चाहिने सामानको विवरण पनि तयार भइसकेको छ। अरू प्राविधिक कुरा मिल्दै छ। अबको तीन महिनामा मिल्क बैंक सञ्चालन गर्ने हाम्रो लक्ष्य हो।
मिल्क बैंकका लागि चाहिने दूध दानबाट लिने हो। कुनै पनि स्वस्थ आमाले आफ्नो दूध दान गर्न सक्छन्। यहाँ दैनिक लगभग ६० देखि ७० आमाले शिशुलाई जन्म दिन्छन्। कतिपय आमाको दूध धेरै भएको हुन्छ। त्यस्ता आमालाई हामीले काउन्सलिङ गर्छौं। दूध धेरै भएका आमाको दूध संकलन गरेर प्रशोधन गर्छौं।
हाम्रो यो योजना सत प्रतिशत सफल हुन्छ भन्ने विश्वास छ। भारतमा सन् १९८९ मा स्थापना हुँदा विभिन्न शंका उपशंका उत्पन्न भएको थियो। अहिले भारतमा लगभग ५० वटा मिल्क बैंक छन्। मिल्क बैंकको स्थापनासँगै बच्चाको मृत्युदर समेत घटेको छ।
हामीले राम्रो काम गर्न लागेका छौं, त्यसैले हामी सफल पनि हुन्छौं। हामीसँग उत्कृष्ट टिम छ। आमालाई काउन्सलिङ गर्न सफल भइयो भने दूध संकलनमा समस्या हुँदैन।
बच्चाको मृत्युदर र आमाको दूधसँग धेरै सम्बन्ध छ। जुन शिशुले आमाको दूध खाएको हुन्छ, त्यस्तो बच्चा बिरामी हुने सम्भावना थोरै हुन्छ। बच्चाको विकासमा आमाको दूधको भूमिका अपरिहार्य छ। विभिन्न खालका संक्रमणबाट बच्चालाई जोगाउन समेत आमाको दूधको धेरै भूमिका रहन्छ।
मिल्क बैंकको आवश्यकता र औचित्यबारे परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी डा.संगीता कौशल मिश्रासँग सेतोपाटीका सन्जिब बगालेले भिडिओ कुराकानी गरेका छन्।