काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ‘रोबटिक सर्जरी’ सुरू गरेको छ।
केएमसीले बिहीबार अस्पतालमा पत्रकार सम्मेलन आयोजना गरेर नेपालमै पहिलो पटक ‘रोबटिक सर्जरी’ थालिएको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा केएमसीका कार्यकारी अध्यक्ष डा.सुनिल शर्माले रोबटिक सर्जरी सुरू गरेर केएमसीले नेपालको न्युरो सर्जरी क्षेत्रमा नयाँ आयाम थपेको बताए। ‘अत्याधुनिक र भरपर्दो उपचारका लागि नेपालमै पहिलो पटक केएमसीले रोबटिक सर्जरी थालेको छ,’ डा.शर्माले भने, ‘नेपालको न्युरो सर्जरीका क्षेत्रमा यो नयाँ आयाम हो।’
केएमसीका जनरज म्यानेजर नारायण दाहालले रोबटिक सर्जरीबाट भरपर्दो उपचारको थालनी भएकाले यसबाट बिरामीहरूलाई धरै राहत मिल्ने बताए।
केएमसीका वरिष्ठ न्युरो सर्जन प्रा.डा.अमित थापाले रोबटीक सर्जरीका बारेमा भिडियोसहित जानकारी गराएका थिए। सूक्ष्म एवम् जटिल शल्यक्रियामा रोवटको सहायता लिदा शल्यक्रिया गर्न धेरै सहज हुने वरिष्ठ न्यूरो सर्जन थापाले जानकारी दिए। ‘रोबटिक सर्जरी’ मा चिकित्सकले बनाएको अप्रेसन योजनामा रोबटको सहायता लिएर अप्रेसन गर्ने गरिन्छ।
अत्याधुनिक ‘रोबटिक सर्जरी’ का लागि केएमसीले अमेरिकाबाट करिब १० करोडको लागतमा मेसिन खरिद गरेर ल्याएको थियो।
न्युरो सर्जरीका लागि एस ८ स्टिल्थ सिस्टम विथ गाइड, एनआइएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ‚ नेभिगेटेड ड्रिल एन्ड एमआईएसएस सिस्टमजस्ता अत्याधुनिक उपकरण खरिद गरिएको अस्पतालले जनाएको छ।
अहिले न्युरो सर्जरीका लागि रोबट प्रयोगमा ल्याएको केएमसीले अब अन्य सर्जरीमा पनि रोबटको प्रयोग गर्ने योजना बनाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।