मुटुमा लाग्ने रोग धेरै किसिमका हुन्छन्। जन्मजात मुटुको रोग, हार्ट फेलर, भल्भहरू बिग्रिनेलगायत समस्या मुटुमा हुन्छन्। मुटु रोगमध्ये सबैभन्दा घातक हृदयघात हो। मुटुका रक्तनली एक्कासी बन्द भएर मुटुले नै काम गर्न नसकेर मान्छेको मृत्युसम्म हुने अवस्था हृदयघात हो।
हृदयघात सबैभन्दा घातक र सबैभन्दा खतरा खालको रोग छ। यो मुटुको रोग धेरैजसो वयष्कलाई नै हुन्छ। पहिला-पहिला त अलि धेरै उमेरकालाई हुन्छ भनिन्थ्यो। तर आज-भोलि भर्खर २५, ३० लागेका युवाहरूलाई पनि हृदयघात भइरहेको छ।
यस्तो खालको हृदयघात अहिले काठमाडौं अथवा सहरी केन्द्रमा धेरै देखिएको छ।
हृदयघातका कारण संसारमै धेरै मान्छेको मृत्यु हुन्छ। हृदयघात पत्ता लगाउने छातीको पीडा भएर हो। छातीको दुःखाइ थाहा पाउनुपर्छ। चिटचिट पसिना आउने गरी छातीको बिच भागमै एकदमै दुख्ने, सास फेर्न कठिन हुने भयो भने हृदयघात भन्ने थाहा पाउनुपर्छ। छातीमा त्यस्तो दुःखाइ छ भने तुरून्त अस्पताल पुग्नैपर्छ। पुग्न सकिएन भने मृत्यु पनि हुनसक्छ।
अस्पतालमा पुग्नासाथ हृदयघात हो कि होइन भनेर दुई वटा परीक्षण गरिन्छ। एउटा इसिजी, अर्को रगतको जाँच (ट्रोपोनिन) हुन्छ। त्यो बढेको रहेछ भने हृदयघात रहेछ भन्ने हुन्छ। भिडिओ एक्सरे (इको कार्डियोग्राफी) पनि गरिन्छ। यसरी हेरेपछि हृदयघात भएको पुष्टि भयो भने बन्द भएको रक्तनली खोल्ने काम हुन्छ। त्यस्तो अवस्थामा एन्जियोग्राफी गरेर एन्जिओप्लाष्टी गर्न मिल्छ।
कोरोनरी अर्ट्री भन्ने रक्तनली साँघुरिएर बन्द भयो भने हृदयघात हुन्छ। त्यसलाई साँघुरिनबाट बचाउने भनेको रोकथाम गर्ने नै हो। उच्च रक्तचाप भयो भने पनि त्यो नली साँघुरिन्छ। चिल्लो धेरै भयो भने पनि साँघुरिन्छ। चिनी रोग भयो भने पनि साँघुरिन्छ। चुरोट खाने व्यक्तिको पनि त्यस्तो हुनसक्छ। वंशानगुत कारणले पनि त्यो नली साँघुरिन्छ। मोटोपन छ भने पनि साँघुरिन्छ। व्यायाम कम गर्नेलाई पनि त्यस्तो समस्या हुन्छ।
हृदयघात रोक्नका लागि केही प्रयास गर्न सकिन्छ। गुलियो धेरै खानु हुँदैन। मोटो छ भने तौल घटाउनु पर्छ। तौल ठिक्क छ भने पनि व्यायाम गर्नुपर्छ। उच्च रक्तचाप छ भने औषधी खानुपर्छ। समय-समयमा रगत जाँच गर्नुपर्छ। कोलेस्ट्रोल धेरै छ भने घटाउनु पर्छ घटाउन सकिएन भने औषधी खानुपर्छ।
हृदयघात किन हुन्छ? यसको उपचार कसरी गर्ने? हृदयघात रोक्न के गर्नुपर्छ लगायतका विषयमा केन्द्रीत रहेर काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स धुलिखेलका डिनसमेत रहेका मुटु रोग विशेषज्ञ प्राडा राजेन्द्र कोजुसँग हामीले भिडिओ कुराकानी गरेका छौं।