नर्भिक इन्टरनेशनल हस्पिटलमा ८१ वर्षीया वृद्धाको दुरबिन प्रविधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ।
नर्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग एवम् ल्याप्रास्कोपिक सर्जन डा. नुतन शर्मा नेतृत्वको टिमले बिहीबार बिहान विराटनगरकी विद्यादेवी भट्टराईको पाठेघरको शल्यक्रिया गरेको हो।
छाती सम्बन्धी समस्याका साथै उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्याबाट ग्रसित भट्टराईको दुरबिन प्रविधिबाट शल्यक्रियामार्फत पाठेघर झिकिएको डा. शर्माले बताइन्।
बढी उमेर समूह र मोटोपन भएका बिरामीको दुरबिन प्रविधिबाट शल्यक्रिया जटिल मानिन्छ।
यसअघि १३४ किलो तौल समूहको महिलाको पनि डा.शर्मा नेतृत्वको टिमले दुरबिन प्रविधिबाट पाठेघरको शल्यक्रिया गरेको थियो।
पेट चिरेर गरिनेभन्दा दुरबिन प्रविधिबाट गरिने शल्यक्रिया बिरामीका लागि सुविधायुक्त र लाभदायक हुने गर्दछ।
सामान्यतः वृद्धा अवस्थामा विभिन्न स्वास्थ्य समस्या भएका महिलाको दुरबिनबाट पाठेघरको अप्रेसन गर्नु जटिल मानिए पनि आफ्ना दक्ष चिकित्सकसहितको टिमले सफल उपचार गरेको नर्भिक अस्पतालले जनाएको छ।
ल्याप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीको अस्पताल बसाइ पनि कम हुने र छिट्टै निको भएर नियमित दैनिकीमा फर्किनसक्ने डा. शर्माले बताइन्।
शल्यक्रियापछि बिरामीको अवस्था सामान्य रहेको र शनिबार शनिवार बिरामीलाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।