गैर आवासीय नेपाली संघ (एनआरएन) र डाँफे केयरबीच आप्रवासी नेपाली कामदारहरूको कल्याणकारी कामको लागि सम्झौता भएको छ। संघ र डाँफेबीच आइतबार नेपाल मेडिकल एसोसिएसन र नर्सिङ एसोसिएसन अफ नेपालको उपस्थितिमा उक्त सम्झौता भएको हो।
डाँफे केयरले एनआरएनसँगको सहकार्यमा गत वर्षदेखि आप्रवासी कामदारहरूलाई टेलिहेल्थ सेवा पनि प्रदान गर्दै आएको छ। आप्रवासी कामदारसँगै यसले अन्य नेपालीहरूमाझ समेत आफ्नो सेवा विस्तार गरेको छ।
यस्तैमा एनआरएनले डाँफे केयरको सहकार्यमा आप्रवासी कामदारहरूलाई स्वास्थ प्रशिक्षण र औषधि अभ्यासबारे बुझाउँदै आफ्नो सेवा विस्तार गर्ने भएको हो। संघले जारी गरेको विज्ञप्ति अनुसार झन्डै ३० लाख नेपाली आप्रवासमा कामदार छन्। धेरैजसो नेपाली कामदार मध्य पूर्व राष्ट्र, मलेसिया, दक्षिण कोरिया र जापानलगायत देशमा छन्।
रोजगारको अभाव र गरिबीका कारण हरेक वर्ष थुप्रै नेपालीहरूको विदेश जानु बाध्यता बनेको छ। तीमध्ये धेरैमा आधारभूत स्वास्थ शिक्षाको अभाव छ। स्वास्थमा समस्या भएपनि विदेशमा थुप्रै नेपालीहरूले चिकित्सा सेवा लिन नपाएकै कारण आफ्नो ज्यान गुमाएका छन्।
यिनै विषयलाई ध्यानमा राख्दै एनआरएनए नेतृत्व डा. संजीब सापकोटाले टेलीमेडिसिन केन्द्र र स्वास्थ्य क्लिनिक चलाउन पहल गरेका हुन्। डा. संजीब स्वास्थ्य समितिका अध्यक्ष समेत हुन्। उक्त केन्द्र प्राथमिक स्वास्थ्य र व्यावसायिक स्वास्थ्यबारे केन्द्रित हुने विज्ञप्तिमा लेखिएको छ।
एनआरएन र डाँफे केयरका अनुसार सम्पूर्ण स्वास्थ्य रिपोर्डहरूको रेकर्ड डिजिटल माध्यममार्फत पनि सुरक्षित राखिनेछ।