सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ललितपुरको गोदावारीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ। गोदावरी नगरपालिका-१२ नं. वडा कार्यालयसँग सहकार्य गरेर स्थानीय ठेचोस्थित लिटिल स्टार इङ्लिस स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले एक कार्यक्रमकाबीच शिविर उद्टन गरेकी छन्। शिविर उद्घाटन गर्दै मन्त्री भुसाललले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा विपन्न वर्गका बिरामीहरूलाई धेरै फाइदा पुग्ने भन्दै शिविर आयोजकलाई धन्यवाद दिइन्।
कार्यक्रममा सांसद राजकाजी महर्जन, गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, गोदावारी नगरपालिका-१२ का वडाध्यक्ष जगत बहादुर महर्जन, केएमसीका प्रमुख सल्लाहकार डा.केपी शर्मा, केएमसीका जनरल मेनेजर नारायण दाहाल लगायतले निःशुल्क स्वास्थ्य शिविरबाट गरिब तथा विपन्न बिरामीले भरपुर फाइदा लिन सक्ने बताए।
शिविरमा १ हजार ५ सय ८७ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर दाहालले जानकारी दिए। शिविरमा ३१४ जनाको रक्त परीक्षण, २२१ जनाको भिडियो एक्सरे र १९८ जनाको मुटुको जाँच (इसिजी) गरिएको छ। गाउँ-गाउँबाट आएका बिरामीलाई केएमसीका विशेषज्ञ डाक्टरहरूले स्वास्थ्य परीक्षण गरेका हुन्।
केएमसीले यसअघि भक्तपुरको दुवाकोट र रामेछापको सुनापातीमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। दुवाकोटको शिविरमा १ हजार ६ सय ६२ र रामेछापको शिविरमा १ हजार १ सय ६५ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।