प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरले थप सेवा विस्तार गरेको छ।
स्थापनाकालयता कोरोनाको पिसिआर परीक्षण गर्दै आएको प्रयोगशालाले सोमबारदेखि थप १ सय २५ प्रकारका स्वास्थ्य परीक्षण सेवा सुरू गरेको हो।
प्रदेशमा पहिलोपटक बायोकेमिष्ट्री डिपार्टमेन्ट, इन्डोक्राइनोलोजी डिपार्टमेन्ट, माइक्रोबायोलोजी डिपार्टमेन्ट, हेमाटोलोजी डिपार्टमेन्ट, मोलेकुलर बायोलोजी डिपार्टमेन्ट लगायतका जाँचको सुरूआत भएको हो। त्यसका साथै थाइराइडको जाँच, भिटामिन ए, भिटामिन बि, ट्युमर मार्कर, हर्मोन, प्याप, अटोमेटेड ब्लड कल्चर, अटोमेटिक टिस्यु प्रोसेसिङ, एचआइभी भाइरल लोड परीक्षण लगायतका सेवा थप गरिएको प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिस्ट दीपेन्द्र मिश्रले जानकारी दिए।
उनका अनुसार फोटोमेट्रीको आधारमा बायोकेमेस्ट्री एनलाइजर मेसिनको एक घण्टामै ८ सय फरक-फरक किसिमका जाँच गर्ने क्षमता छ।
त्यसैगरी, एकदिनमै १ हजार परीक्षण हुनेगरी पिसिआर मेसिनको क्षमता विस्तार गरिएको मिश्रले बताए।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निर्धारण गरेबमोजिम प्रदेश जनस्वास्थ्य प्रयोगशालाले शुल्क तोकेको उनले जनाए। थप गरिएका सेवा शुभारम्भ गर्दै प्रदेश २ को सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रयोगशालाको सेवा विस्तारबाट प्रदेशको स्वास्थ्य स्थितिमा सुधार आउने विश्वास व्यक्त गरे।
‘अब बिरामी पर्नुभन्दा अगावै प्रदेशका जनताले स्वास्थ्य जाँच गराउन पाउँछ,’ उनले भने।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवण कुमार मिश्रले प्रयोगशाला स्थापनाको उद्धेश्य बमोजिम प्रदेशमा पब्लिक हेल्थ, ल्याबोरेटरी सर्भिस र केमिकल रिलेटेड हेल्थ सर्भिसको सुरूआत गरिएको बताए।
‘अब हामी प्रदेशभरका पालिकाहरूमा समेत सेवा विस्तार गर्ने क्रममा छौं,’ उनले भने।
निर्देशक मिश्रले रोगको अर्लि डायलासिसको लागि धरान, काठमाडौं, दिल्ली जानुपर्ने भएकोले अब जनकपुरमै डाइग्नोसिस सर्भिस प्रदेशस्तरदेखि जिल्लास्तर सम्ममा आएको बताए।