वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा रहेको सेभ द हार्टको आयोजनामा पाल्पाको माथागढी गाउँपालिकामा दुई दिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सेभ द हार्टका महासचिव शेरबहादुर रानाले दिएको जानकारीअनुसार उक्त शिविरमा दुई हजार ७ सय ९५ भन्दा बढी नागरिकले सेवा लिएका छन्।
मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा सेभ द हार्ट र माथागढी गाउँपालिकाद्वारा आयोजित उक्त शिविरमा ४ सय २८ जनाको ईसिजी र ३ सय ८१ जनाको ईकोकार्डियोग्राफी गरिएको पनि रानाले जानकारी दिए।
शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन भएको शिविरमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा मुटुरोग विशेषज्ञ प्रा. डा भगवान कोइराला र मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालका एशोसिएट प्रोफेसर डा. अनिल भट्टराईको नेतृत्वमा गएको चिकित्सकको टोलीले मुटु परीक्षण गरेको हो।
मुटु परीक्षण गराएकामध्ये ६० जनामा जटिल समस्या देखिएपछि काठमाडौं ल्याईएको र तीमध्ये ४३ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको पनि रानाले जानकारी दिए।