काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले भक्तपुरको मध्यपुरठिमी नगरपालिका-८ बोडेमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
श्रीमहालक्ष्मी बचत तथा ऋण सहकारी संस्थासँग सहकार्य गरेर केएमसीले बोडे माध्यमिक विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो।
शिविरमा १ हजार ३ सय १७ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका जनरल म्यानेजर नारायण दाहालले जानकारी दिए।
दाहालका अनुसार शिविरमा २०३ जनाको रक्त परीक्षण, १९८ जनाको भिडियो एक्सरे र १६४ जनाको मुटुको जाँच (इसिजी) गरिएको छ ।
त्यस्तै, दाँतमा समस्या भएका २२ जना बिरामीको दाँत खोलिएको छ। शिविरमा उपचार सम्भव नभएका ४३ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ।