काभ्रेको बनेपा नगरपालिकामा मंगलबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ११ सय भन्दाबढी बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ।
बनेपा नगरपालिका वडा नं. ७ सँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले स्थानीय वाइलर इन्टरनेशनल एकेडेमीमा एक दिने शिविर सञ्चालन गरेको हो।
शिविरमा १ हजार १ सय ५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल म्यानेजर नारायण दाहालले जानकारी दिए।
शिविरमा उपचारका क्रममा २१३ जनाको रक्त परीक्षण, १६४ जनाको मुटुको जाँच (इसिजी) र ११७ जनाको भिडियो एक्सरे गरिएको छ।
त्यस्तै, दाँतमा समस्या भएका ३१ जनाको दाँत उखेलिएको छ। यता, शिविरमा उपचार सम्भव नभई अप्रेसन गर्नुपर्ने अवस्थाका ४२ जना बिरामीलाई अस्पताल रिफर गरिएको छ।
यसअघि केएमसीले काभ्रेको धुलिखेलमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। शिविरबाट १ हजार १ सय ६५ बिरामी लाभान्वित भएका थिए।