थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा शनिबार दुई फरक विषयसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरूले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएका छन्।
नर्भिक अस्पतालको युरोलोजी टिमले विशेष ओपिडी निःशुल्क सञ्चालन गर्न लागेको छ।
शनिबार(भोलि) १० देखि १२ बजेसम्म सञ्चालन हुने निःशुल्क ओपिडीमा युरोसर्जरी विशेषज्ञ डा. सञ्जिवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले निःशुल्क सेवा दिनेछन्। उनीहरू नेतृत्वको युरोलोजी टिम नै निःशुल्क ओपिडीमा उपलब्ध हुने अस्पतालले जनाएको छ।
मिर्गौला, मूत्र प्रणाली, पिसाब थैली, प्रोस्टेट तथा पत्थरीसम्बन्धी समस्या भएकाहरूले युरोलोजी टिमको निःशुल्क ओपिडीबाट लाभ लिनसक्नेछन्। निःशुल्क ओपिडीमा सहभागी हुने कुनै बिरामीको सर्जरीको आवश्यकता देखिएमा सहुलियत दर समेत उपलब्ध गराइने बताइएको छ।
यस्तै, नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा नर्भिकको डाइजेस्टिभ डिजिज सेन्टरका प्रमुख डा. सन्दीपराज कुँवरले समेत शनिबार नै निःशुल्क ओपिडी सञ्चालन गर्नेछन्।
पेट तथा आन्द्रा वा पाचनप्रणालीसँग सम्बन्धित समस्या भएका बिरामीले डा. कुँवरको निःशुल्क ओपिडीबाट लाभ लिनसक्नेछन्।
डा. कुवरले पनि बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिनेछन्।
नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवालाई सञ्चालन गर्दै आएको छ।
निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ।