ओम हस्पिटल र नबिल बैंकबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ।
नबिल बैंकको प्रधान कार्यालयमा बिहिवार आयोजित एक कार्यक्रममा बैंकका ग्राहक कर्मचारी तथा परिवारजनलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको हो ।
सम्झौतापत्रमा ओम अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी तथा परिवारजनले ओम हस्पिटलमा उपलब्ध सम्पूर्ण सेवाहरुमा विशेष छुट पाउनेछन्।
बैंकका ग्राहकले सो छुट बैंकको प्रिपेड, डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी अस्पतालको सेवाको बिल भुक्तानी गर्दा पाउन सक्नेछन्।
त्यसैगरी नबिल बैंकले हस्पिटलका चिकित्साकर्मी तथा कर्मचारीलाई आफ्नो बैंकिङ सेवा सहज र सरल रुपमा उपलब्ध गराउनेछ।
नबिल बैंकले आफ्ना १३५ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ। बैंकको देशभर १८७ वटा एटीएम सञ्चालनमा छन्।
नेपालमा निजी क्षेत्रवाट सञ्चालित ओम अस्पातलले वि.सं. २०४६ सालदेखी निरन्तर रूपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ।
३६ वटा विभिन्न विभागहरु मार्फत १०० जना विशेषज्ञ चिकित्सक, २५० जना भन्दा बढि नर्सिङ स्टाफ तथा प्राविधिक तथा प्रशासनिक जनशक्ति २२५ जना भन्दा बढि कर्मचारीहरु सहितको विश्वस्तरिय उपचार सेवा प्रदान गर्दै आएको छ ।
विश्वस्तरीय उपचार सेवाका लागि गुणात्मक तथा सर्वसुलभ स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको तथा आधुनिक उपकरणसमेत उपलब्ध रहेको ओम हस्पिटलमा एकै छानामुनी सबै किसिमका उपचार सेवा उपलब्ध रहेका छन् ।
नेपालमा सन्तान विहिन दम्पतिहरुकालागि आइभिएफ सेवा- (टेष्ट ट्युव बेबी) शुरु गर्ने पहिलो अस्पतालका रुपमा स्थापित यस अस्पतालबाट एक हजार भन्दा बढी दम्पतिले वात्शल्य सुख प्राप्त गरिससकेका छन्।
पछिल्लो पटक ओम अस्पताल सघन उपचारको सुलभ र सहज गन्तव्यका रुपमा समेत परिचय बनाउन सफल भएको छ।
क्रिटिकल केयर मेडिसिनमा डिएम गरेका विशेषज्ञ चिकित्सक तथा सघन उपचार नर्सिङमा विशेष तालिम प्राप्त नर्सिङ स्टाफको संलग्नतामा उपचार सेवा प्रदान गरिने यस अस्पतालमा २० शैय्या सहितको लेभल थ्री आइसियू सेवा सञ्चालनमा छन्।
ओम हस्पिटलले पछिल्लो समयमा कोभिड १९ को महामारीको विशेष परिस्थितिलाई मध्यनजर गरी छुट्टै कोभिड इमर्जेन्सी सेवा, अलग्गै कोभिड आइसोलेशन वार्ड तथा कोभिड आइसियू समेत सञ्चालन गरेको छ।