युएई जानेहरूका लागि त्रिभुवन विमानस्थलमा र्यापिड पिसिआर गर्न क्रिष्टल डाइनोष्टिक ल्याब र सिद्धी पोली प्याथ ल्याबले सञ्चालन अनुमति पाएका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सरकारबाट ए ग्रेड मान्यता प्राप्त क्रिष्टल डाइनोष्टिक ल्याब र सिद्धी पोली प्याथ ल्याबलाई संचालन अनुमति दिएको हो।
स्वास्थ्य मन्त्रालयले केही साताअघि नयाँ कार्यविधि ल्याएको थियो। नयाँ कार्यविधि ल्याएपछि सरकारी टोलीले नेपालमा रहेका ल्याबहरूको स्थलगत निरीक्षण गरेको थियो।
स्थलगत निरीक्षणमा उत्कृष्ट ठहरिएका यी दुई ल्याबलाई त्रिभुवन विमानस्थलमा ल्याब सञ्चालन गर्न अनुमति दिइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।
युएईको नागरिक उड्डन प्राधिकरणले त्यहाँ जाने यात्रुहरूको लागि र्यापिङ पिसिआर गरेर मात्र आफ्नो देशमा आउन ४ महिनाअघि नयाँ नियम जारी गरेको थियो।
त्यसपछि युएईको नागरिक उड्डन प्राधिकरणको सहमतिमा यी दुई ल्याबले पनि र्यापिङ पिसिआर गर्दै आइरहेका थिए। यी ल्यावबरूलाई विमानस्थल परिसरमा ल्याब राखेर नमूना परीक्षण गर्न भन्दै १३ बुदेँ निर्देशन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पठाइसकेको छ। यी ल्याबलाई २०७९ असार मसान्तसम्मका लागि अनुमति दिइएको छ।
युएई जाने यात्रुहरूको ४८ घण्टाभित्र पिसिआर गरेर नेगेटिभ आएकाहरूको मात्र नमूना संकलन गर्न यी ल्याबलाई भनिएको छ। विमानस्थलमा नमूना लिएर बाहिर नपठाउन पनि यी ल्याबहरूलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निर्देशन दिएको छ।