नेपालमा अनलाइनमार्फत अपोइन्टमेन्ट सेवा दिँदै आइरहेको कोजेन्ट हेल्थले विभिन्न अस्पतालहरूमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरू गरेको छ।
कोजेन्ट हेल्थले भुक्तानी सेवा प्रदायक ई-सेवासँगको सहकार्यमा एभरेष्ट हस्पिटल नयाँ बानेश्वर, इशान बाल तथा महिला अस्पताल बसुन्धरा काठमाडौं, मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर पोखरा तथा राप्ति लाइफ केयर हस्पिटल तुल्सिपुरमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात गरेको हो।
यी सबै अस्पतालहरू ई-अपोइन्टमेन्ट प्लेटफर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवा लिन सकिनेछ। योसँगै अबदेखि यी अस्पतालहरूमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि ई-सेवाको मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ।
अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टी बढाउने अपेक्षा गरिएको छ। बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुनेछ। अहिलेको कोभिड-१९ को महामारीका बेला यो सेवाले अझ धेरै सहजता ल्याउनेछ।
कोजेन्ट हेल्थ र ई-सेवाले अस्पतालहरूमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ।
कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो। कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर)मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ।
कोजेन्ट हेल्थ र ई-सेवाद्धारा निर्मित ई-अपोइन्टमेन्ट र क्यूआर पेमेन्टलगायत कोजेन्ट इएमआर, कोजेन्ट इएमआर वेब जस्ता प्रविधिहरू नेपालभरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन्।