सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)ले १६८ बेड क्षमताको आइसियू उपचार कक्ष सञ्चालनमा ल्याएको छ।
उसले गत साता सघन उपचार कक्ष (आइसियू)लाई विस्तार गर्दै १६८ क्षमताको बनाएको हो। कोभिड-१९ को तेस्रो लहर चलिरहेका बेला केएमसीले आइसियू कक्ष विस्तार गरेको हो।
कोभिड उपचार तथा अन्य जटिल किसिमका बिरामीको उपचारका लागि आइसियू शैया बढाइएको केएमसीका जनरल म्यानेजर नारायण दाहालले बताए।
केएमसीमा यसअघि ३४ वटा आइसियू बेड थिए। केएमसीका प्रमुख सल्लाहकार डा.केपी शर्मा र अस्पताल निर्देशक डा.सुमन श्रेष्ठले विस्तारित आइसियू सेन्टरको उद्घाटन गरेका थिए।
विस्तार गरिएको शैया नेपालका अस्पतालहरूको भन्दा बढी रहेको दाहालले दाबी गरे। ‘अब केएमसी नेपालको सबैभन्दा ठूलो आइसियू सेन्टर सञ्चालन गर्ने अस्पताल भएको छ,’ दाहालले भने, ‘नेपालका कुनै पनि निजी वा सरकारी अस्पतालमा यति आइसियू बेड छैन।’
विस्तारित आइसियूमा ६८ बेडको जनरल, ४० बेडको एनआइसियू, २२ बेडको पल्मो आइसियू, १२ बेडको एमआइसियू, ११ बेडको एसआइसीयि, १० बेडको पिआइसियू र ५ बेडको न्यूरो आइसियू रहेको दाहालले बताए।
केएमसीले यसअघि नवजात शिशु सघन उपचार कक्ष र बाल रोग सघन उपचार कक्ष पनि सञ्चालनमा ल्याएको थियो।
विस्तारित आइसियू बेडको शुल्क तुलनात्मक रूपमा सस्तो कायम गरिएको दाहालले बताए।
दाहालले भने, ‘सरकारी क्षेत्रबाट सञ्चालित वीर अस्पताल र सिभिल अस्पतालमा आइसियू चार्ज दुई हजार छ, हामीले १९ सय रुपैयाँमै आइसियू उपलब्ध गराएका छौं।’ केएमसीमा ५८ वटा भेन्टिलेटर सञ्चालनमा छन्।