ललितपुरस्थित जावलाखेलको अल्का अस्पताल मंगलबारदेखि १६ वर्षमा प्रवेश गरेको छ। १६ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अस्पतालले रक्तदान कार्यक्रम आयोजना गरेको छ।
त्यस्तै, वार्षिक उत्सवको अवसरमा अस्पतालले आइभिएफमा मंगलबार (फागुन ३ गते) देखि फागुन १० गतेसम्म, शनिबारबाहेक ओपिडी निःशुल्क गरेको छ। आइभिएफ टेष्टमा २० प्रतिशत छुट तथा आइभिएफ र आइयुआईमा विशेष सहुलियत दिइने अस्पतालले जनाएको छ।
अल्का अस्पताल २०६२ साल फागुन ३ गतेदेखि संचालनमा आएको हो। ‘बिरामीहरूको उपचार राख्न हामी ख्याल गर्छौ’ भन्ने स्लोगनसहित कुमार थापाले अल्का अस्पताल संचालन गरेका हुन्। अस्पतालमा सय शैया छ।
१६ वर्ष पुगेको खुशीयालीमा अस्पतालका संचालक एवम् अध्यक्ष कुमार थापाले सम्पूर्ण अस्पतालका टोली र सेवाग्राहीहरूप्रति आधार व्यक्त गरे। अस्पतालकी कार्यकारी निर्देशक विद्या थापा श्रेष्ठले भने सेवाग्राहीहरूलाई सहज र सरल रुपमा उपचार दिन अल्काले थप सेवा विस्तार गर्न लागेको बताइन्। अस्पतालले केही समय अघि अल्का आइभिएफ सेन्टर र डाइबेटिज सेन्टरको स्तरउन्नती गरेको थियो।
अल्का अस्पतालले उपचारमा भित्रिएका नयाँ प्रविधिहरू भित्र्याएर बिरामीहरूलाई सेवा दिदैँछ। अस्पतालमा सुविधा सम्पन्न एनआइसियू कक्ष छ।
अस्पतालले नशा सम्बन्धी, बाथ रोग सम्बन्धी, यौन तथा छालारोग सम्बन्धी, ग्यास्ट्रोलोजी, रेडियोलोजी, आँखा, नाक, कान घाँटी, दाँत रोग, युरोलोजिष्ट, कलेजो रोग, एनेस्थेसिया, टेष्ट ट्युव बेबी सेवा, प्रसुति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटु रोग तथा यसका सम्पूर्ण परीक्षण र सेवाहरू उपलब्ध गराइरहेको छ।