सानेपास्थित स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवा सुरू भएको छ।
भुक्तानी सेवा प्रदायक ई-सेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरू भएको ई-अपोइन्टमेन्ट प्लेटफर्ममा स्टार अस्पताल आबद्ध भएसँगै अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो। योसँगै अबदेखि स्टार अस्पतालमा डाक्टरसँगको परामर्शका लागि अपोइन्टमेन्ट बुकिङ तथा भुक्तानी ई-सेवा मोबाइल एप्लिकेशनमार्फत गर्न सकिनेछ।
ई-सेवा मोबाइल वालेट भित्र हेल्थ सेक्सनमा गई स्टार अस्पताल छनोट गरी आफूलाई सहज हुने मिति र समय छनोट गरेर डाक्टरसँग अपोइन्टमेन्ट बुक गर्न र डिजिटल मार्फत तत्काल भुक्तानी गर्न सकिनेछ।
अपोइन्टमेन्ट प्रणाली सुरू भएसँगै अब बिरामीलाई लाइनमा बस्नुपर्ने झन्झट नहुने अस्पतालको भनाइ छ। योसँगै अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टी बढाउने अपेक्षा गरिएको छ।
कोजेन्ट हेल्थ र ई-सेवाले अस्पतालहरूमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ।
कोजेन्ट हेल्थ प्रा.लि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नव प्रवर्तन कम्पनी हो। कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (एएमआर)मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ।
कोजेन्ट हेल्थ र ई-सेवाद्धारा निर्मित ई-अपोइन्टमेन्ट र क्युआर पेमेन्ट लगायत कोजेन्ट इएमआर, कोजेन्ट इएमआर वेब जस्ता प्रविधिहरू नेपालभरका एक सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरूमा प्रयोग भइरहेका छन्।