अन्तराष्ट्रिय नारी दिवसको अवसरमा देशभर नारी उत्थान र हितका लागि अनेकौं कार्यक्रम सम्पन्न भएको छ। महिला सशक्तीकरण र उत्थानका लागि जनचेतनामुलक कार्यक्रमहरूले नारी दिवसलाई थप रौनक थपेको छ।
नारी दिवसलाई थप सशक्त बनाउने अभिप्रायका साथ कामना सेवा बैंक र पहिलो पाइला नेपाल सामाजिक संस्थाले सहकार्य गरेको छ। पिछडिएका समुदाय पहिचान गरी विभिन्न क्षेत्रका महिला वर्गलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्ने, सेनेटरी प्याडको उपयोगिता र प्रयोग विधिसम्बन्धी प्रशिक्षण उपलब्ध गराउने र सबैको पहुँचको बनाउन बैंक र पहिलो पाइला नेपालले सहकार्य गरेका हुन्।
मंगलबार सुनवल नगरपालिका वडा नं १, नवलपरासीमा र पोखरा महानगरपालिका वडा नं १९, कास्कीमा एकैसाथ नारी दिवस विशेष कार्यक्रम संचालन गरी अभियानले सुरुवात पाएको हो। नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा सुनवलका एक सय १५ जना र पोखराका एक सय ५ जनाभन्दा बढी महिलाहरूलाई प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना तथा सेनेटरी प्याड वितरण गरिएको हो।