लुम्बिनी प्रदेशस्थित जिल्ला अस्पताल गुल्मीले आफ्नो स्वास्थ्य सूचना प्रणाली थप परिस्कृत बनाएको छ।
यसअन्तर्गत अस्पतालले आफ्नो विद्युतीय मेडिकल रेकर्ड प्रविधिलाई वेब वेस्ड प्रविधिमा स्तरवृद्धि गरी बिरामीको स्वास्थ्य विवरण डिजिटल रूपमै राख्न सक्ने व्यवस्था गरेको छ। यसले बिरामीको रोगको निदान र उपचारको गुणस्तर बढाउन थप सहज हुने अस्पतालले विश्वास राखेको छ।
उक्त स्वास्थ्य सूचना प्रणाली स्तरवृद्धिमा स्वास्थ्य बीमा तथा डिएचआइएस-२ इन्टिग्रेसन गरी दुई महत्वपूर्ण विशेषतहरू पनि कार्यान्वयन गरिएको छ।
स्वास्थ्य बीमा बोर्ड प्रवर्द्धित स्वास्थ्य बीमामा आवद्व बिरामीहरूको इलिजिबिलिटी अर्थात बाँकी बीमा सुविधा रकम हेर्न सकिने र बीमा दाबी पनि इएमआर सफ्टवेयर मार्फत डिजिटल रुपमै गर्न सकिने इन्टिग्रेटेड प्रविधि सुरु गरेको छ।
बिरामीको प्रत्येक बिल स्क्यान गरी अपलोड गर्न नपर्ने गरी स्वास्थ्य सूचना प्रणालीबाट सिधै बिरामीको बिल अपलोड गर्न सकिने भएको छ। यसले गर्दा समयको बचत हुनुका साथै बिगतमा जस्तो तोकिएको समय सीमा भित्र बीमा दावी गर्न नसक्दा अस्पतालले नोक्सान व्यहोर्नुपर्ने समस्याको समाधान हुनेछ।
त्यसैगरी, डिएचआइएस-२ इन्टिग्रेसनले अब अस्पताल सूचना प्रणालीलाई नेपाल सरकारको एचएमआइएस रिपोर्टिङ प्लेटफर्मसँग जोडेको छ। अस्पतालको मेडिकल रेकर्डलाई अस्पतालको स्वास्थ्य सूचना प्रणाली मार्फत डिएचआइएस-२ प्लेटफर्ममा सिधै मासिक रिपोर्टहरू पठाउन सकिने भएको छ। यसले गर्दा विगतमा जस्तो प्रत्येक शाखाबाट डेटा संकलन गरी डिएचआइएस -२ प्लेटफर्ममा म्यानुअल डेटा इन्ट्री गर्नु पर्दैन।
अस्पतालले बिरामीहरूको सहजतालाई मध्यनजर गर्दै अनलाइन अपोइन्टमेन्ट र पोर्टल सेवा पनि सुरू गर्ने तयारी गरेको छ। यसमार्फत बिरामीहरूले अस्पतालमा कार्यरत आफूले चाहेको डाक्टरसँग मोबाइल वालेट मार्फत घरबाटै अपोइन्टमेन्ट बुक गर्न र परामर्श शुल्क भुक्तानी गर्न सक्नेछन्। साथै, बिरामीहरूले आफ्नो ल्याब टेस्ट रिपोर्टहरू पनि घरमै अनलाइनमार्फत हेर्न सक्नेछन्।
यी सेवाहरू गुल्मी अस्पताल, निक साइमन्स इन्टिच्यूट र अस्पतालहरूमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) सफ्टवेयर सेवा प्रदान गरिरहेको कम्पनी कोजेन्ट हेल्थको सहकार्यमा संचालन गरेको हो।
कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नव प्रवर्तन कम्पनी हो। कम्पनीले विद्युतीय मेडिकल रेकर्ड (इएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दैछ।
कोजेन्ट हेल्थद्वारा निर्मित कोजेन्ट इएमआर, कोजेन्ट इएमआर वेब लगायत ई-अपोइन्टमेन्ट जस्ता प्रविधिहरू नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरूमा प्रयोग भइरहेका छन्।