धेरै महिला आङ खस्ने (पाठेघर) को समस्याबाट ग्रसित छन्।
आङ खस्ने समस्याबाट ग्रसित भएर अन्तिम स्टेजमा आएर अपरेसन गरिएको कतिपय केस छन्।
उमेर नपुगी कलिलै उमेरमा बिहे गरेका महिला, जन्मान्तर नराखी लगालग धेरै बच्चा जन्माएकी महिला, गह्रौं भारी उठाउने वा बोक्ने महिला, कुपोषित महिला, कब्जियत भएका महिला, चुरोट आदि मध्यपान, धूमपान गर्ने महिलामा बढी जसो पाठेघरको समस्या उत्पन्न हुने गर्छ।
यस्ता समस्या भएका महिलाको पाठेघर केही हदसम्म तल खसेको हुन्छ। यसको पनि विभिन्न चरण हुने गर्छ।
प्रारम्भिक चरणलाई फष्ट डिग्री, अलि विकसित रूपलाई सेकेन्डरी डिग्री र अन्तिम चरणलाई थर्ड डिग्री भन्ने गरिन्छ।
पहिलो चरणका पीडित महिलाको पाठेघर अर्थात् आङ थोरैमात्रै खसेको हुन्छ। त्यो भनेको पाठेघरको मांसपेशीले आफ्नो ग्रिप गुमाउनु हो।
यस्तो अवस्थामा ती महिलाले सावधानी अपनाउन जरूरी हुन्छ। आफ्नो अवस्था बुझेपछि त्यस्ता महिलाहरूले थप बच्चा जन्माउनु, गह्रौं भारी बोक्नु वा धूमपान गर्ने छोड्नुपर्छ। पाठेघर खस्ने समस्याको खासै उपचार नहुने र रोकथाम गर्नुपर्ने भएको हुँदा पीडित महिला स्वयम् यसबारे सजग हुनुपर्छ।
पाठेघरमा समस्या उत्पन्न हुनुको एउटा प्रमुख कारण कलिलै उमेरमा बिहे गर्नु पनि हो। उमेर नपुगी बिहे गर्नेहरूको शरीरका अंगहरू राम्ररी विकास भइसकेको हुँदैन।
त्यस्ता महिलाहरू गर्भवती हुँदा र बच्चा जन्माउने समयमा पूर्ण विकसित भइनसकेको पाठेघर बढी तन्किने, फुल्ने गर्दा आङ खस्ने समस्या उत्पन्न हुन्छ।
जति धेरै बच्चा जन्माउँदै गयो त्यति नै पाठेघर कमजोर हुँदै जाने हुँदा आङ खस्ने समस्या निम्तने खतरा रहन्छ।
धेरै बच्चा नजन्माउने र दुई वर्षभन्दा बढी जन्मान्तर राखेरमात्रै बच्चा जन्माएमा पाठेघरको समस्याबाट जोगिन सकिन्छ।
त्यस्तै सुत्केरी अवस्थामा महिलाको विशेष ख्याल राख्ने, स्याहार सुसार गर्ने र त्यस्तो कुनै पनि गह्रुंगो वस्तु उठाउन वा काम गर्न नदिने गर्दा पनि आङ खस्ने समस्याबाट बच्न सकिन्छ।
धूमपान गर्ने महिला भए त्यसले दम बढ्ने र दम बढेमा प्रेसर बढेर आङ खस्ने समस्या उत्पन्न हुने सक्ने खतरा हुन्छ। कब्जियत छ भने समयमै उपचार गर्न जरूरी हुन्छ।
पाठेघरमा मासु पलाएको छ भने त्यसलाई समयमै उपचार अर्थात् अपरेसन गरे आङ खस्ने समस्याबाट जोगिन सकिन्छ।
आङ खस्ने समस्या एक जटिल समस्या भएका कारण यसको उपचारभन्दा पनि रोकथामको विधि अपनाउनु बुद्धिमानी हुन्छ।
जे कारणले पाठेघरमा समस्या निम्तिएको हो त्यो पत्ता लागेपछि ती कुराहरू गर्नु भएन। जस्तै: गह्रौं काम गरेर हो कि, धेरै बच्चा जन्माएर हो कि, कुपोषित भएर हो कि, बढी धूमपानका कारणले समस्या भएको हो? त्यो कुरा पत्ता लगाएर फेरि त्यही काम गर्न छाडे पाठेघरको समस्याबाट जोगिन सहज हुन्छ।
फस्ट र सेकेन्ड डिग्रीको समस्या हो भने एक्सर्साइज गरे केही सुधार हुन सक्छ। यदि अन्तिम स्टेजमा पुगेको रहेछ भने अपरेसन गरेर पाठेघर फाल्नुको विकल्प रहँदैन।
तर पाठेघर झिकेर फालेपछि पनि स्वास्थ्यमा विभिन्न समस्या देखापर्ने खतरा हुन्छ। त्यस्ता महिलामा निन्द्रा नलाग्ने, जिउ पोल्ने अन्य हड्डीसम्बन्धी समस्या निम्तन सक्ने खतरा रहन्छ।
महिनावारी रोकिने समय पुगेका ४० वर्ष माथिका महिलाको पाठेघर फाल्दा त्यति समस्या हुँदैन।
त्यसैले सन्तानको चाहना भएका महिला र त्यो चरणमा नपुगेका महिलाले पाठेघर फाल्दा धेरै कुरामा ख्याल गर्न आवश्यक हुन्छ।
(राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सिनियर कन्सल्टेन्ट गाइनोलोजिष्ट डा. बिनोद सिंहसँग सेतोपाटीका नारायण खड्काले गरेको कुराकानीमा आधारित)
हेर्नुस् भिडिओ: