विश्वभरि भयावह रुपमा फैलिइरहेको क्यान्सर रोगको अवस्था, यसको निदानका लागि भइरहेका वैज्ञानिक खोज अनुसन्धान र उपचार प्रविधिका विषयमा चिकित्सकीय अनुभव सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन झापामा शनिबार देखि सुरू भएको छ।
झापाको मेचीनगरमा क्यान्सर रोग विशेषज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलन ‘पूर्वाञ्चल क्यान्सर कंग्रेस २०२२’ सुरू भएको आयोजक पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड जनाएको छ। विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र नेपाल क्यान्सर फाउन्डेसनले संयुक्त रुपमा आयोजना गरेको सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत र बंगलादेशका २०० जना विशेषज्ञ चिकित्सकहरुको सहभागिता छ।
होटल मेची क्राउनको सभाहलमा सुरू भएको सो सम्मेलन कात्तिक २० गतेसम्म सञ्चालन हुने पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर एवम् सम्मेलनका कार्यक्रम निर्देशक डा. वीरेन्द्र यादवले सेतोपाटीलाई जानकारी दिए।
सम्मेलनमा विज्ञहरूका २० वटा वैज्ञानिक कार्यपत्र र १० वटा पोस्टर कार्यपत्र प्रस्तुत हुने भएको छ।
यस्ता सम्मेलनहरू ठूला देश र सहरमा मात्र आयोजना हुने गरेकोमा झापामा आयोजना हुनु गौरवको विषय भएको आयोजक पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक डा. निराजन प्रसाईले बताए।
सम्मेलनमा भएका छलफल र अनुभवको विनिमयले क्यान्सरको उपचारमा नयाँ प्रविधिको प्रयोग बढ्ने र यसबाट पूर्वाञ्चल क्यान्सर अस्पतालको सेवाको गुणस्तर विश्वस्तरीय बन्ने भारतको दिल्लीस्थित सर्वोदय क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. दिनेश पेन्दावरले बताएका छन्।