पछिल्लो समय असुरक्षित गर्भपन चुनौती बन्दै गएको पाइएको छ।
चितवनमा आयोजित एक कार्यक्रमा असुरक्षित गर्भपतन चुनौती बन्दै गएको बताइएको हो।
देशमा प्रतिवर्ष करिब १ लाख महिलाले सुरक्षित रुपमा गर्भपतन गराउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ४३ प्रतिशत गर्भपतन सुरक्षित भएको छ भने, ५७ प्रतिशत गर्भपतन अझै असुरक्षित रुपमा भइरहेको छ।
कार्यक्रममा सहभागी बाग्मती प्रदेश सरकार स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक महेश्वर श्रेष्ठले खुला नाका भएकाले भारतबाट गर्भपतन गराउने औषधि दर्ता नगरी ल्याउने र त्यसको गुणस्तर पनि नहुने बताए। नेपालमा गर्भपतन गराउने औषधि ६ वटाले मान्यता पाएका छन्।
नेपालका औषधि निकै महंगा भएकाले भारतबाट लुकाएर नेपाल ल्याउने र दर्ता वाला औषधिको खोलमा हालेर सस्तोमा बिक्रि गर्ने गरेको श्रेष्ठले बताए।
‘हामीले निगरानी गर्न सकेनौं त्यो छुट्टै विषय हो,’ श्रेष्ठले भने, ‘अब जुन निकायले स्वीकृत दिएको छ उसलै यसको निगरानी गर्नुपर्छ।’
महिलाहरुले विभिन्न बाध्यताले गर्दा सूचिकृत स्वास्थ्य संस्थाभन्दा बाहिर गएर गर्भपतन सेवा लिइरहेका भन्दै उनले जटिल अवस्थामा असुरक्षित गर्भपतन गराउँदा कतिपयको बाटोमै मृत्यु भएको बताए।
श्रेष्ठका अनुसार आमाको मृत्यु हुने कारण मध्येको एउटा असुरक्षित गर्भपतन पनि हो। यसलाई सबै मिलेर कम गर्न सक्नुपर्छ ।
बरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर सुनिलमणि पोख्रेलले असुरक्षित गर्भपतनका कारण अत्यधिक रक्तश्राव, उच्च रक्तचाप र सङ्क्रमणका कारण मातृ मृत्युदर बढेको बताए।
‘एक त मुलुकी ऐनले आफैंमा बाझिएको छ। अर्को कुरा सचेतना र परिवार नियोजनका साधन प्रयोगमा कमी र लापरवाही छ,’ उनले भने।
समाजको डर, सामाजिक प्रतिष्ठा र जथाभाबी औषधिको प्रयोगले पनि असुरक्षित गर्भपतन बढेको उनको भनाई छ।
‘पहिलो कुरा परिवार नियोजनको साधनको प्रयोग गर्नुपर्छ। गर्भपतन गर्नु राम्रो होइन तर, गर्नै परेको खण्डमा सबैभन्दा सुरक्षित स्थानमा गएर गराउनुपर्छ। सर्भिस दिने निकाय पनि इमान्दार हुन आवश्यक छ’, उनले भने, ‘गर्भपतन गराउँनै परेको अवस्थामा सम्बन्धीत स्वास्थ्य संस्था सूचिकृत भए नभएको र व्यक्तिको बारेमा पूर्ण जानकारी हुनुपर्छ। सूचिकृत स्वास्थ्य संस्था भन्दा बाहिर गएर गर्भपतन गराउँदा बिभिन्न संक्रमण हुने डर हुन्छ।’
मेरिस्टोप्स इन्टरनेशनलका उप निर्देशक अनिल यादवले कानुनी रूपमा गर्भपतनको सेवा लिन पाइन्छ भन्ने कुराको धेरैमा ज्ञान नभएको बताए। ‘धेरै मानिसलाई कानुनी रूपमा गर्भपतन सेवा लिन पाइन्छ, सेवा लिएवापत दण्ड सजाय हुँदैन भन्ने ज्ञान छैन’, उनले भने, ‘गर्भपतन गैरकानुनी हो, र यो सेवा लिएबापद दण्ड हुन्छ भन्ने आम महिलाको बुझाइ छ।’