अल्का अस्पतालले पुस १८ गतेदेखि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।
जावलाखेलमा रहेको अल्का अस्पतालले १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए।
अस्पताल परिसरमा हुने निःशुल्क स्वास्थ्य शिविरमा आइभिएफ, मधुमेह तथा न्युरो साइकियाट्रिक विशेषज्ञबाट स्वास्थ्य जाँच गरिने उनले बताए।
शिविरमा स्वास्थ्य जाँच गरिएकाहरुलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याव जाँच र औषधि वितरण पनि गरिने अस्पतालले जनाएको छ।
शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा एक लाख छुटको व्यवस्था मिलाइएको समेत अस्पतालले बताएको छ।
त्यस्तै, एमआरआइ र सिटी स्क्यान पनि निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको छ। शिविरमा सहभागीहरूले एक महिनासम्म फलो अप गर्दा पनि कुनै शुल्क लाग्ने छैन।
अल्का अस्पतालले यसअघि लमजुङ, मकवानपुर, काभ्रे लगायतका दर्जनौ जिल्लाहरूमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको छ।
२०६२ साल फागुन ३ गतेदेखि सञ्चालनमा आएको उक्त अस्पतालमा एक सय शय्या छ।
'बिरामीहरूको उपचार राख्न हामी ख्याल गर्छौ' भन्ने स्लोगनसहित कुमार थापाले अल्का अस्पताल सञ्चालन गरेका हुन्।
अस्पतालले केही समय अघि अल्का आइभिएफ सेन्टर र डाइबेटिज सेन्टरको स्तरोन्नति गरेको थियो।
अस्पतालले उपचारमा भित्रिएका नयाँ–नयाँ प्रविधिहरू भित्र्याएर बिरामीहरूलाई सेवा दिँदै आइरहेको छ।