नर्भिक हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवाको सुरू गरेको छ।
यस क्रममा हस्पिटलले हालसम्म दुई व्यक्तिको मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको छ।
मिर्गौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया श्रीमतीले दान दिएको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको र ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको बताइएको छ।
आगामी दिनमा यो सेवालाई विस्तार गर्दै लगिने जानकारी हस्पिटलले जानकारी दिएको छ।
हस्पिटलका विज्ञ चिकित्सकद्वय डा. राकेश बर्मा र डा. आरके अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरूको टिमले मिर्गौला प्रत्यारोपण सेवा दिँदै आएका छन्।
हस्पिटलमा भएको सबै खालका स्वास्थ्य समस्याको स्तरीय उपचार सेवाको सहज उपलब्धताका कारण जटिल हुँदाहुँदै पनि सफलतापूर्वक प्रत्यारोपण भएको हस्पिटलले बताएको छ।
मल्टिस्पेशालिटी हस्पिटल भएका कारण मिर्गौला प्रत्यारोपण अघि र पछि देखिने अन्य स्वास्थ्य समस्याको समाधान पनि एउटै छानामुनि हुने र यस्ता केन्द्रहरूमा प्रत्यारोपणका क्रममा जोखिम कम हुने भएका कारण समेत नर्भिकमा सुरू भएको मिर्गौला प्रत्यारोपण सेवाले विशेष महत्व राख्ने हस्पिटलको भनाइ छ।
हस्पिटलले कलेजो प्रत्यारोपण सेवा पनि विस्तार गर्ने उद्देश्यले अनुमति लिने प्रक्रिया पनि अगाडि बढाइसकेको जानकारी गराएको छ।
नर्भिक हस्पिटल सन् १९९३ वर्षदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको स्वास्थ्य संस्था हो।
हस्पिटलका अनुसार हाल देशकै पहिलो र एक मात्र जेनेटिक ल्याबसहितको आइभिएफ (टेस्टट्यूब बेबी) सेन्टर समेत हस्पिटलमा सञ्चालनमा छ।
अत्याधुनिक उपकरणसहितको नर्भिक कस्मेटिक एण्ड डर्मा सेन्टर समेत केही महिनाअघिदेखि सञ्चालनमा आएको हस्पिटलले बताएको छ।