चितवन मेडिकल कलेज शिक्षण अस्पतालले सिएमसी क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याउन लागेको छ।
बिहीबार कलेजको १६ औं वार्षिकोत्सव तथा वसन्तपञ्चमीको अवसर पारेर भगिनी संस्थाका रूपमा इन्स्टिच्युटको उद्घाटन गर्न लागेको अस्पताल निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।
विश्वमा क्यान्सरको उपचारको क्षेत्रमा प्रयोग भएको पछिल्लो प्रविधिको माध्यमबाट दक्ष चिकित्सक तथा विज्ञबाट सम्पूर्ण क्यान्सरको परीक्षण, निदान र उपचार गराइने उनले बताए। यहाँ ब्य्राकिथेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध हुने उनले बताए।
इन्स्टिच्युटमा क्यान्सरका बहिरङ्ग सेवा, अन्तरंग सेवा, रेडियोथेरापी, केमोथेरापी, ब्राकी थेरापीलगायतका सेवा रहेका छन्। दैनिक एक सय जनासम्मलाई रेडियसन (सेक्ने) सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको छ।
‘उपचारका लागि महिनौं पालो कुर्नुपर्दा क्यान्सर झनै फैलिन सक्ने र त्यसले उपचारमा समेत समस्या खडा गर्न सक्छ। यसको पहिचान हुनेबितिक्कै उपचार सुरू गर्न सकियो भने निको पार्न सकिन्छ,’ डाक्टर लम्सालले भने, ‘सिएमसी क्यान्सर इन्स्टिच्युटले पालो कुर्न नपर्ने, समयमै उपचार पाउने गर्ने अवस्थाको सुरूआत गर्नेछ।’
उनले क्यान्सर पहिचान गरेर उपचार गर्नेदेखि अन्तिम अवस्थामा पुगेका बिरामीहरूलाई प्यालिएटिभ केयर सेवासम्म दिने बताए।
यहाँ उपचार सुरू भएसँगै क्यान्सर भएको पुष्टि गर्ने आइएचसी टेष्टबाहेक अन्य परीक्षणका लागि नमूना भारत पठाउन नपर्ने इन्स्टिच्युटको दाबी छ। इन्स्टिच्युटले आइएचसी परीक्षण र पेट स्क्यान मेसिन पनि भित्र्याउने तयारी गरिरहेको डाक्टर लम्सालले बताए।
यहाँ उपचार गर्ने बिरामीले सरकारी क्यान्सर अस्पतालमा पाउने सुविधाहरू पनि पाउने अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले बताए। उनले क्यान्सरको उपचारका लागि संघीय सरकारले दिने एक लाख र बागमती प्रदेश सरकारले दिने पचास हजार रुपैयाँ बराबरको उपचार सेवा यहाँबाट पनि पाउने बताए। बिरामीले सामाजिक सुरक्षा कोषमार्फत् हुने उपचारमा पनि यहाँबाट पाउनेछन्।
साथै अन्य उपचारको शुल्क पनि सरकारी अस्पतालको सरह हुने देवकोटाले बताए।
क्यान्सर इन्स्टिच्युटमा भारत, अमेरिका, चीनमा क्यान्सर उपचारको काम गरेका अनुभवी विशेषज्ञ चिकित्सकहरू रहेको देवकोटाले बताए।
देवकोटाले क्यान्सर इन्स्टिच्युट स्थापना गर्न २ अर्ब रुपैयाँ भन्दा बढी खर्च भएको बताए। उनले आफ्नै देशमा अत्याधुनिक प्रविधि भित्रिएका कारण विदेशमा काम गरिरहेका चिकित्सकहरू देश फर्किन तयार भएको बताए।
इन्स्टिच्युटका रेडिएसन अंकोलोजिष्ट डाक्टर सुवास ठाकुरले देशमै अत्याधुनिक प्रविधि भित्र्याएर उपचार सुरू गर्नसक्दा क्यान्सरको उपचारका लागि भारतलगायत विभिन्न मुलुक जानुपर्ने अवस्थाको अन्त्य हुने बताए। उनले अहिले यहाँ रक्तक्यान्सरबाहेक सम्पूर्ण क्यान्सरको परीक्षण र उपचार भइरहेको जानकारी दिए।
ठाकुरका अनुसार टाउकोभित्रको ट्युमरलाई बिनाशल्यक्रिया उपचार गर्ने प्रविधि एसआरएस (स्टेरियो टेक्टिक रेडियो सर्जरी) पनि यहाँ छ। यसबाट उपचार गर्दा शल्यक्रिया नगरी टाउकोभित्र रहेको ट्युमरलाई भित्रै सेकाएर नष्ट गर्न सकिन्छ। त्यस्तै एसबिआरटी (स्टेरियो टेक्टिक बडि रेडिएसन थेरापी) सेवा पनि सुरू गरिएको छ।
यसले शल्यक्रियाबिना शरीरका अंगहरूमा रहेको क्यान्सरका ट्युमरहरूलाई नष्ट गर्दछ। उनले फोक्सो, प्रोस्टेट, आन्द्राको क्यान्सरमा यो विधि उपयोगी हुने बताए। यसैगरी शल्यक्रिया गर्नै नमिल्ने गरी फैलिएको क्यान्सरको उपचारमा पनि यो प्रविधि सहज हुने उनले बताए।
ब्रेकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सरका कोष मार्ने प्रविधि पनि इन्ष्टिच्युटमा छ। पाठेघरको मुख र जिब्रोको क्यान्सर उपचारमा यो प्रविधिको बढी प्रयोग हुने गर्दछ।
अस्पताल निर्देशक डाक्टर लम्सालले क्यान्सर उपचारका लागि सहयोगी हुने अन्य उपचार सेवा र उपकरण मेडिकल कलेजमा पहिलेदेखि नै भएकाले उपचारमा थप सहज हुने बताए। अस्पतालमा एमआरआई, सिटीस्क्यान, मेमोग्राम, स्पेक्टसिटी, बोन स्क्यानर, इण्डोस्कोपी, भिडियो एक्सरे, एक्सरे, इसिजी, क्याथल्याब, ए ग्रेडको प्रयोगशाला, आइसियू, एनआईसियू, सिसियू रहेका छन्।