पाँचखाल नगरपालिकालाई 'स्वस्थ पाँचखाल' बनाउन काभ्रेको धुलिखेल अस्पतालसँग सम्झौता गरिएको छ।
स्वस्थ पाँचखाल अभियानको सम्झौता पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल र धुलिखेल अस्पतालका चिकित्सा निर्देशक प्रा.डा. बलराम मल्लले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार पाँचखाल बालुवामा रहेको धुलिखेल अस्पतालको 'आउटरिच सेन्टर' लाई अस्पतालको रूपमा स्तरोउन्नति गर्ने, नगरमा रहेको 'अक्सिजन कन्सन्ट्रेसन बैंक'मा कन्सन्ट्रेसन थप्ने र दाँतको समस्या भएकालाई उपचारसहित दाँत राखिदिने भनिएको छ।
त्यस्तै, 'स्याहार अर्गानिक उत्पादन' मा सहयोग पुर्याउन तीन सय रोपनी जग्गामा औषधि उत्पादन गर्ने विषयमा सम्झौता भएको पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले जानकारी दिए।
उक्त जमिनमा सिँचाइको व्यवस्थापन गर्ने र त्यहाँ एलोभेरा, तुलसीलगायतका अर्गानिक उत्पादन गरी अस्पतालमा रहेको 'स्याहार अर्गानिक उत्पादन'मा विभिन्न औषधि उत्पादन गर्ने सम्झौता गरिएको हो।
यसबाहेक नगरका प्रत्येक नागरिकको उमेरगत परिवार संख्या, उनीहरूको स्वास्थ्य अवस्था तथा औषधि सेवनसमेतको डेटा संकलन गरिने नगरप्रमुख खरेलको भनाइ छ।
कार्यक्रममा नगरप्रमुख खरेलले धुलिखेल अस्पतालसँग गरिएको सम्झौताअनुसार स्वस्थ पाँचखाल अभियान अन्तर्गत स्वास्थ सेवाको दायरा बढाउँदै हरेकलाई स्वस्थ नागरिक बनाइने बताए।
अस्पतालका प्रमुख प्रा.डा. रामकण्ड माकजू श्रेष्ठले पाँचखालको स्वस्थ नगर बनाउने अभियान अन्य स्थानीय तहले अनुसरण गर्न आग्रह गरे।
अस्पतालका प्रसुति विभागको प्रा.डा. आभा श्रेष्ठले पिसाब चुहिने समस्या देखिएका हरेक महिलालाई नगरको सहयोगमा तीन सय ६५ अमेरिकी डलरको ‘सोलिक्स मिनिसिलिङ’ राखेर निःशुल्क उपचार गराइनेबारे जानकारी दिए।
नगरको ६० अक्सिजन कन्सन्ट्रेसन रहेको बैंकमा अस्पतालले ५० पोर्टेबल अक्सिजन कन्सन्ट्रेसन प्रदान गरेको छ।