पुरानो बसपार्कस्थित काठमाडौं भ्युटावरमा आगामी वैशाखदेखि पार्किङ खुला हुने भएको छ।
यो भ्युटावर बनिसकेको छैन। तर निर्माण हुँदै गर्दा नै यहाँको पार्किङ खुलाउँदै जाने छलफल भएको काठमाडौं महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाई प्रमुख महेशकुमार काफ्लेले बताए।
'सडकमा अव्यवस्थित पार्किङ हटाइरहेका छौं। यसले पार्किङ अभाव देखिएको छ। समाधानका लागि भ्युटावरको पार्किङ खुलाउँदै जाने हाम्रो योजना हो। वैशाखदेखि पार्किङ सुरू गर्ने गरी काम भइरहेको छ,' उनले भने।
यो टावरमा सुरूमा सय वटाभन्दा बढी स्कुटर तथा मोटरसाइकल र ६० वटासम्म साना तथा ठूला गाडी पार्किङ गर्न मिल्ने उनले बताए।
टावर निर्माण थालेको ६ महिनामै यहाँ पार्किङ गर्न सकिने भनिएको थियो। यो निर्माण सुरू भएको सात वर्ष भइसकेको छ। हालसम्म पार्किङ गर्न मिल्नेसम्म पनि बनेको छैन।
अन्डरग्राउन्डमा ठूलो परिमाणमा माटो हटाउन बाँकी रहेको काफ्लेले बताए। सबै निर्माण सकिएपछि भने यो टावरमा एक हजार हाराहारी मोटरसाइकल तथा स्कुटर पार्किङ गर्न सकिने उनको भनाइ छ। त्यस्तै साना गाडी पाँच सयवटा र डेढ सय वटासम्म ठूला गाडी अटाउने क्षमता हुनेछ।
काफ्लेका अनुसार यसले न्युरोड तथा रत्नपार्क आसपास गुड्ने सवारीसाधनको पार्किङ धान्नेछ।
'यसअघि बसपार्क हुँदा यहाँको जमिनभरि सवारी हुन्थे। अब तीन तलामा छुट्टाछुट्टै किसिमका सवारी पार्किङ गर्न सकिने भएकाले धेरै अटाउँछन्,' उनले भने।
सार्वजनिक सवारीले यात्रु ओराल्ने तथा चढाउने र हिँडिहाल्ने हुँदा पनि ठूलो संख्यामा सवारी अटाउने उनले बताए।
भूमिगत पार्किङ रहने यो टावरमा काउन्टर, सूचना डेस्कसँगै अत्याधुनिक सिनेमा हल रहनेछ। रेस्टुरेन्ट, बैंक तथा वित्तीय संस्था लगायत व्यापारिक प्रयोजनलाई पनि लक्षित गरिएको छ। टावर भूकम्प प्रतिरोधात्मक हुने काफ्लेले जानकारी दिए।
महानगरपालिकाले २०७१ फागुनमा सार्वजनिक निजी साझेदारी मोडलमा २९ तले टावर निर्माण गर्ने सम्झौता गरेको थियो। यो भ्युटावर बनाउने जिम्मा जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स प्रालिले पाएको छ।
भुइँचालोपछि सहरी विकास मन्त्रालयले १२ तलाभन्दा अग्लो बनाउन नसकिने बताएपछि महानगरले १२ तले टावरकै नक्सा पास गरेर निर्माण थालेको थियो। टावरको शिलान्यास २०७२ कात्तिक २५ गते भएको थियो।
पछिल्लो समय भने महानगरले यसलाई फेरि १२ तलाभन्दा अग्लो बनाउने सोचिरहेको छ। अहिले तला थप्ने कुरा उठिरहेको काफ्लेले बताए।
'अझै तला थप्नुपर्दा अहिलेको भारवहन क्षमताले पुग्छ कि पुग्दैन भन्ने अध्ययन गर्न पुल्चोक इञ्जिनियरिङ कलेजलाई जिम्मा दिएका छौं,' उनले भने, 'समग्र प्राविधिक अध्ययनपछि कति तला थप्न सकिन्छ भन्ने यकिन हुनेछ।'
उनका अनुसार तत्कालीन समयमा भुइँचालोका कारण सरकारले १२ तलेभन्दा बढी बनाउन नसकिने बताएको थियो। हाल भने काठमाडौं उपत्यकाभित्रका नगरपालिका र नगरोन्मुख गाउँपालिकामा गरिने निर्माण सम्बन्धी मापदण्ड २०६४ अनुसार नै टावर निर्माण गर्न सकिने भएको छ।
'सोहीअनुसार अध्ययन अगाडि बढाइएको हो,' प्रमुख काफ्लेले भने, 'यो टावरबाट पूरै काठमाडौं नियाल्न मिल्ने गरी पर्यटक आकर्षण गर्न बेसमेन्टले धान्नेसम्म अग्लो बनाउने योजना अघि सारिएको हो।'
सहरी विकास मन्त्रालयका प्रवक्ता प्रदीप परियारले पनि यो टावर निर्माणको विषय मन्त्रालयको कार्यक्षेत्रमा नपर्ने बताए। यो महानगरकै कार्यक्षेत्रमा पर्ने भएकाले उसैले हेर्ने उनको भनाइ छ।
भ्युटावर बनिरहेको २३ रोपनी पाँच आना जग्गा महानगरपालिकाकै हो। टावर बनाउने सम्पूर्ण खर्च भने जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स प्रालिले बेहोर्ने सम्झौता छ। सम्झौताअनुसार ३० वर्षसम्म निर्माण कम्पनीले सञ्चालन गरेर त्यसपछि महानगरलाई नै हस्तान्तरण गर्नुपर्छ।
‘यो अवधिमा हामीले महानगरलाई वार्षिक कर तिर्नुपर्छ,’ जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्सका सञ्चालक मनोजकुमार भेटवालले भने।
टावर बनाउँदा जग्गाको भाडा वार्षिक ९८ लाख ३४ हजार र टावर बनिसकेपछि वार्षिक २ करोड ७० लाख रूपैयाँ महानगरलाई दिने सम्झौतामा उल्लेख छ। यो शर्त २९ तलाको टावर बन्दा लागू हुने हो। टावर त्योभन्दा कम वा बढी तलाको बनाउँदा कति कर बुझाउनुपर्छ भन्नेबारे खुलाइएको छैन।
भ्युटावरका लागि सुरूमा करिब दुई अर्ब रूपैयाँ लागत अनुमान थियो। तर हालसम्म पाँच अर्ब रूपैयाँ खर्च भइसकेको भेटवाल बताउँछन्। उनका अनुसार हालसम्म दस तला बनिसकेको छ।
'पूरै निर्माण सक्न थप तीनदेखि चार अर्ब लाग्छ,' उनले भने, 'तला थपियो भने अझै धेरै लाग्छ।'
पछिल्लो समय आर्थिक शिथिलताका कारण रकम जुटाउन नसकेकाले निर्माणमा चुनौती थपिएको उनले बताए।
'पैसा भए टावरको पूरै निर्माण अब एक वर्षमा सकिन्छ। तर अहिले बजारमा पैसा छैन। त्यसैले अवधि लम्बिने भयो,' उनले भने।
लगानी जुटाउन नसक्दा कहिले बनिसक्ने भन्ने विषयमा अझै अन्यौल भएको उनले बताए। निर्माण कम्पनी र महानगरपालिकाबीच यो टावर पाँच वर्षभित्र सक्ने गरी सम्झौता भएको थियो।