बैतडीमा स्वास्थ्य बीमा गर्नेको संख्या बढ्दै गएको छ ।
स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्य बीमामा आकर्षण बढेको स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला प्रबन्धक जनक साउदले बताए ।
गतवर्ष पुस ७ गतेदेखि बैतडीमा स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरू भएकोमा २०७३ फागुनबाट सेवा दिने काम सुरू भएको थियो । हालसम्म तीनहजार २७ जनाले स्वास्थ्य बीमा गरेको साउदले जानकारी दिए । पाँच जनासम्मको परिवारले दुईहजार ५ सय रुपैयाँ तिरेमा ५० हजार रुपैयाँसम्मको उपचार निःशुल्क गर्ने गरिएको छ ।
सूचीकृत अस्पतालमा मात्रै निःशुल्क उपचार हुने उनले बताए । पाँच जनाभन्दा बढी संख्या भएको परिवारका लागि ४२५ रुपैयाँ का दरले थप शुल्क लाग्ने बताइएको छ ।
जिल्लामा स्वास्थ्य बीमा गरेकामध्ये ३२७ जनाले सेवा समेत लिइसकेका छन् । स्वास्थ्य बीमाअन्तर्गत सुरूमा ५३० प्रकारका औषधि निःशुल्क रूपमा दिने व्यवस्था गरिएको भए पनि अहिले ९२८ प्रकारका औषधि निःशुल्क प्रदान गर्ने गरिएको साउदले बताए । स्वास्थ्य बीमाका लागि जिल्लाभरि दर्ता सहयोगी रहेको सामाजिक सुरक्षा विकास समिति बैतडीले जनाएको छ ।
अल्ट्रासाउण्ड सेवापछि मातृ मृत्युदरमा कमी
यसैबीच, बैतडीमा चार ठाउँबाट गर्भवतीका लागि अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आएपछि मातृ मृत्युदरमा कमी आएको छ ।
अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आएसँगै गर्भवतीको अवस्थाका बारेमा जानकारी पाइने भएकाले मातृ मृत्युदरमा कमी आएको हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोदकुमार कुँवरले जानकारी दिए । अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आएसँगै गर्भवतीमा देखिने जटिलताका बारेमा समयमै थाहा हुने र सुविधा सम्पन्न अस्पतालमा रिफर गर्न सकिने भएकाले मातृ मृत्युमा कमी आएको उनले बताए ।
हाट स्वास्थ्य चौकी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालबाट अल्ट्रासाउण्ड सेवा सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले बताईन् ।
ग्रामीण क्षेत्रमा गर्भवतीका लागि अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आएपछि आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि सजिलो भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट मुकेश दयालले बताए ।
पैसाको अभावमा टाढा गएर गर्भवतीको अवस्थाका बारेमा जाँच गराउन नसक्ने नागरिकका लागि ग्रामीण अल्ट्रासाउण्ड बरदान सावित भएको उनले बताईन् ।
अहिले हाट, पाटन, मेलौली मात्रै महिनाको ६० भन्दा बढी गर्भवतीले अल्ट्रासाउण्ड सेवा लिइरहेका छन् । तीमध्ये महिनामा कम्तीमा तीन/चार जनालाई रिफर गर्नुपरिरहेको हाट स्वास्थ्य चौकीका इन्चार्ज कुँवरले बताए । रासस