सुन्धारा काठमाडौंस्थित सिटिसी मलको आठौं तल्लामा सुविधा सम्पन्न एयर कण्डिशनयुक्त शारिरीक व्यायामशाला अर्थात ‘फिटनेश पार्क’ संचालनमा आएको छ।
विभिन्न रोग र शारिरीक समस्याका कारण ह्विलचियर प्रयोग गरिराखेका व्यक्तिका लागि समेत सहज पहुँचका लागि लिफ्ट सहितको यसमा ‘स्पा’को सेवा समेत दिइने बताइएको छ।
युवा तथा खेलकूदमन्त्री राजेन्द्रकुमार केसीले बुधबार सो फिटनेस पार्क तथा स्पाको उद्घाटन गरे। एकै छानामुनि अत्याधुनिक सुविधासम्पन्न उपकरण राखेर संचालनमा ल्याइएका यस्ता फिटनेस पार्कले स्वस्थ रहन सघाउ पुग्ने उनले बताए। अर्कोतर्m शारिरीक सुगठनसम्वन्धि खेलाडी उत्पादन गर्न पनि मद्दत पुग्ने उनले बताए।
६ हजार वर्गफिटमा फैलिएको र ४ सय जना अट्ने क्षमताको सो फिटनेस पार्क बिहान साढे ५ देखि राथि ९ बजेसम्म खुल्ने छ। आठौं तल्लामा रहको सो फिटनेस पार्कबाट शारिरीक व्यायाम गर्दै शहरको दृष्यावलोकन समेत गर्न सकिन्छ।
सेवामुलक व्यवसायको रुपमा ५ करोड रुपैयाँको लागतमा खोलिएको सो फिटनेस पार्क र स्पामा उच्चस्तरीय (क वर्गको) विभिन्न फिटनेस उपकरण राखिएका छन्। यसैगरी गोल्ड जिमबाट फिटनेस सम्वन्धी अध्ययन र तालिम गरेका अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरका गरी विभिन्न विधामा १५ जना प्रशिक्षकको व्यवस्था गरिएको छ।
विगत १५ वर्षदेखि मुलुकभरका फिटनेस सेन्टरहरुमा फिटनेस सम्वन्धि उपकरण र सामाग्री आपुर्ति गर्दै आएको मल्टिनेशनल बिजनेस कन्सर्न (एमएनबिसि) फिटनेश च्वाइसका सञ्चालक उत्तम सिलवाल र अर्का व्यवसायी हरिशंकर पुरी मिलेर सो फिटनेस पार्क एकवर्ष लगाएर स्थापना गरेका हुन।
फिटनेस पाक कार्डियो (मुटु) सम्वन्धी शारिरीक व्यायामका लागि बेलायतको ब्राण्डेड ‘पल्स फिटनेस’ उपकरण ल्याइएको छ भने अन्य व्यायाम र शारिरीक सुगठनका लागि चीनमा निर्मित टप डिएचजेड ब्राण्ड र (एमएनबिसि)ब्राण्डका उपकरण ल्याइएको छ।