अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाली मौलिक परिकारको प्रवद्र्धन तथा विस्तार गर्ने उद्देश्यले स्वीट्जरल्याण्डको थनमा नेपाली सेफ कुमार चालिसेले ‘टेस्टिङ नेपाल’ नामक विशेष कार्यक्रम संचालन गरेका छन्।
नेपालस्थित ग्लोबल एकेडमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसनका सेफ चालिसेले नेपाली मौलिक खानाका परिकार विश्व सामु चिनाउन सो कार्यक्रम गरिएको बताए।
कार्र्यक्रममा मार्सी भात, हिमालयन दाल, माछाको झोल, करेसाबारीको साग, टिम्बुर, लोकल कुखुराको मासुबाट तयार पारिएको लेदो, काँक्रोको अचार लगायतका परिकार प्रदर्शनमा राखिएको थियो।
सुइस होटल एसोसिएसनको सहयोगमा आयोजना गरिएको सो कार्यक्रममा स्विजरल्याण्ड, जर्मन, फ्रान्स, इटालीका दुई सयभन्दा बढी खानाका पारखीको सहभागिता रहेको चालिसेले बताए।
‘आफूले सिकेको ज्ञानमार्फत नेपालको पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली मौलिक खानाका परिकार विदेशीहरुका माझ पस्केको हुँ’ उनले भने ‘हस्पिटालिटिको क्षेत्रमा स्विजरल्याण्ड निकै चर्चित मानिन्छ, यहाँ आएर नेपाली स्वाद ल्याउनु गर्वको कुरा हो’ चालिसेले भने।
नेपाली परिकारको लोकप्रियता बढाउन स्वदेश तथा विदेशका विभिन्न भागमा यस्ता कार्यक्रम सञ्चालन गराउँदै आएका चालिसेले यसअघि मकाउ, दुबइ, हङकङ, अस्ट्रेलिया लगायतका मुलुकमा समेत नेपाली खानका परिकार सम्बन्धी कार्यक्रमको आयोजना गरिसकेका छन्।