ठेक्का पट्टामा बलजफ्ती बढेको र सोही कारण प्रतिस्पर्धात्मक वातावरणमा ह्रास आएको भन्दै सरकारले विद्युतीय ठेक्का प्रणाली अर्थात इविडिङ लागू गरको छ। तर पनि अझैसम्म पत्रिकामा सुचना प्रकाशित गरेर टेन्डर आव्हान गर्ने प्रविधि भने छुटेको छैन।
त्यतिमात्र होइन टेन्डर दर्ता गर्ने अन्तिम दिनको अन्तिम घण्टामा दर्ता गर्न सबै जाने र बलियोले कमजोरलाई ढोकामा थुनेर आफ्नोमात्र ठेक्का पार्ने प्रवृत्ति पुरानै हो।
हाल केही मत्थर भनिएको उक्त प्रवृत्ती आज हुलाक सेवा विभागमा देखिएको छ। बारकोड र स्क्यानर आापूर्तिको लागि भन्दै विभागले आव्हान गरेको टेन्डर दर्ता गर्ने अन्तिम मिति आज १२ बजेसम्म थियो। ११ बजेसम्म कुनै पनि टेन्डर दर्ता पनि भएको थिएन। तर ११ बजेर ४५ मिनेटमा एउटा टेन्डर दर्ता भयो।
त्यसको लगत्तै ११ बजेर ५५ मिनेटमा अर्को बारकोड नेपालको टोली पुग्यो टेन्डर दर्ता गर्न तर त्यहाँ पहिले नै दर्ता गरिसकेको कम्पनीका प्रतिनिधिले रोकछेक गरे। अनि झगडा सुरु भयो।
बारकोड नेपालका निर्देशक हेमेश्वर मल्लले आफूहरुलाई उक्त समूहले टेन्डर दर्ता गर्न अवरोध गरेपछि पुलिस बोलाएको र पुलिस आएपछि दर्ता गर्न जाँदा १० मिनेट ढिला भएको बताए। झगडा परेको कारणले आफूहरुलाई टेन्डर दर्ता गर्न दिन माग गरेपनि विभागले सुनुवाई नगरेको गुनासो गरे।
आफूहरुलाई आक्रमण गर्ने टोलीका विरुद्ध प्रहरीमा उजुरी गरेको बताए।
होहल्ला भएकै कारणले आफूले प्रहरीलाई खबर गरेको तर समय गुज्रिसकेकोले दर्ता गर्न नमिलेको विभागका सुचना अधिकृत राजन पौडेलले जानकारी दिए।
‘उक्त समूसँगै अर्को समूह आएर यदि बारकोड नेपालको टोलीलाई दर्ता गर्न दिए आफूहरुलाइ पनि दिनुपर्ने माग गरेपछि दिन नसकिएको हो।’
उक्त टेन्डरमा एउटा कम्पनीकोमात्र दावी प्रस्तुत भएको पौडेलले जानकारी दिए।