अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले राजश्व अनुसन्धान गर्ने संयन्त्र विना उन्नत व्यवसायिक वातावरण बन्नैनसक्ने ठाेकुवा गरेका छन्। नेपालमा सामान आयात गर्दा चेकजाँचको नाममा विभिन्न ठाउँमा झन्झट हुने गरेको व्यवसायीको गुनासोप्रति लक्षित गर्दै अधिकारीले राजश्व चुहावट गर्ने सोचबाट माथि उठ्नपर्ने बताए।
६६ औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै अधिकारीले सरकारले लगानीको वातावरण बनाउनुपर्ने र व्यवसायीले इमान्दारीपूर्वक कर तिर्नुपर्ने बताए।
भन्सारमा पूर्वाधार निर्माण, प्रविधिको प्रयोगले मूल्यांकन प्रक्रिया आधाुनिक बन्दै गएको र यसले व्यवसायीलाई सहज सेवा दिइरहेको उनको भनाइ छ।
पछिल्लो समय भन्सारतर्फको राजश्वको हिस्सा बढ्दै गइरहेको छ। आयातमा आधारित अर्थतन्त्र भएकोले भन्सारमा अर्थमन्त्रालयका अधिकारीहरुको मुख्य नजर पर्दै आएको छ। विगतका वर्षमा उच्चदरमा बढेको भन्सारतर्फको राजश्व पछिल्ला वर्षहरुमा केही सुस्त भएको छ।
संघीयता कार्यान्वयनको कारणले केन्द्रिय सरकारलाई स्रोतको आवस्यकता निकै बढेपनि सोहीअनुसार राजश्व संकलन नभए कठिन अवस्था आउनसक्ने अर्थसचिव अधिकारीको भनाइ छ। अहिलेकै पद्धति र प्रक्रियाबाट अगाडि बढे लक्षित राजश्वग संकलन नहुने उनको संकेत छ।
‘संघीयता कार्यान्वयनले राजश्वको माग झनै बढाएको छ’ उनले कार्यक्रममा बोल्दै भने,‘यस्तोमा हामी सबैको एउटै उद्देश्य हुनपर्छ सरकार सेवा दिने व्यवसायी कर तिर्नेमा।’
तर व्यवसायीहरु विगतको तुलनामा भन्सारमा सुधार भएपनि अझै अल्झाउने क्रम नरोकिएको गुनासो गरेका छन्। व्यवसायीलाई दुःख दिने काम भन्सारदेखि नै सुरु हुने उनीहरुको गुनासो छ। यही अवस्थाको कारण नेपालका उद्योगधन्दाहरु बन्द गर्नुपर्ने अवस्थामा रहेकोतर्फ व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका थिए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्वस अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले धारणा राख्दै आफूहरु भन्सार सुद्धता र कर तिर्ने कुरामा सहयोग गर्न सदैव तयार रहेको बताए।
उक्त अवसरमा राजस्व सचिव शिशिरकुमार ढुंगानाले व्यवासायिक वातावरण निर्माण गर्न भन्सार प्रशासनलाई निर्देशन दिए।
भन्सार विभागमा महानिर्देशक जगदीश रेग्मीले व्यवसायिक वातावरण निर्माण हुने गरी भन्सार प्रशासनमा सुधार ल्याउन आफूहरु केन्द्रित भएको बताए। निजी क्षेत्रसँगको सम्बन्ध विस्तार गरेर मुलुकलाई समृद्ध बनाउने गरी भन्सार विभागले पूर्वाधार विकासलगायतका नीतिगत र संरचनागत क्षेत्रमा काम गरिरहेको रेग्मीको भनाइ छ।